शनिबार, फागुन २२, २०७७

फेसबुकले अष्ट्रेलियामाथि लगाएको प्रतिबन्ध हटायो

ज्योतिन्यूज २०७७ फागुन ११ गते ११:५९

क्यानबेरा । फेसबुकले अस्ट्रेलियामा रहेका आफ्ना प्रयोगकर्तामाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । अस्ट्रेलिया सरकार र फेसबुकबीच सहमति भएपछि फेसबुकले समाचार शेयर गर्न मिल्ने बनाउने भएको हो ।

एउटा प्रस्तावित कानुनको विरोधमा गत बिहीवारदेखि फेसबुकले आफ्नो मञ्चमा अस्ट्रेलियाबाट समाचार हेर्न नमिल्ने बनाइदिएको थियो। उक्त कानुनमा गुगल र फेसबुकले समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको थियो।

फेसबुकसँग अष्ट्रेलिया सरकारले विधेयकको प्रावधान परिवर्तन गर्ने र फेसबुकलाई नेगोसियसन गर्न दुई महिनाको समय दिने सहमति गरेको छ। फेसबुकले बदलामा समाचार सेयरको सुविधा फेरि सुरू गरेको हो।

अस्ट्रेलियाका एक वरिष्ठ अधिकारीले फेसबुकमा न्यूज पेजहरू आगामी दिनमा फेरि खुल्ने बताए । उनका अनुसार त्यसका लागि कानुनमा संशोधन गरिनेछ। ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे न्यायोचित संवाद होस् भन्ने आफ्नो कानुनको उद्देश्य भएको अस्ट्रेलिया सरकारले जनाएको छ।

विश्वभरि नै चासोपूर्वक हेरिएको नियमनसम्बन्धी यो विषयलाई फेसबुक र गुगलले विरोध गरेका थिए। बीबीसीका अनुसार फेसबुकले अस्ट्रेलिया सरकारसँग भएका छलफलहरूबाट आफू ढुक्क भएको मङ्गलवार जनाएको छ।

प्रतिक्रिया