शनिबार, फागुन २२, २०७७

जनकपुर- जयनगर रेल चलाउन सरकारले ल्याउने भयो नयाँ अध्यादेश

ज्योतिन्यूज २०७७ फागुन ११ गते १४:५९

काठमाडौं । सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि नयाँ अध्यादेश ल्याउने भएको छ ।

रेल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको भन्दै रेल्वे अध्यादेश जारी गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयारी अघि बढाएको छ ।

सरकारले रेल सेवा चाँडै नै उद्घाटन गर्ने तयारी गरिरहेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने गरी छलफल भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कुरा नेपालस्थित भारतीय दूतावासले बताएको छ ।

भाडादर र टिकटका विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । कम्प्युटर खरीद सकेर उता लगेर राख्न तयारी अवस्थामा छ । भाडादरका विषयमा कम्पनीले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । बसलगायतका अरु सवारीसाधनको भाडादरमा चलाउन तयारी गरिएको उहाँले बताउनुभयो । सामान्य सिटमा ३५ किमी रेलमार्ग यात्रा गर्न रु ७५ भाडादर तोकिएको छ । उहाँले भन्नुभयो, “डिलक्सको भाडा सामान्यभन्दा चारपाँच गुणा बढी हुनेछ ।”

रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । अहिले पनि सवारीसाधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना सरकारले लिएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन ल्याइएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।

नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासँगै अघि बढेको हो ।

अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । कूल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । विजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ ।

प्रतिक्रिया