शुक्रबार, वैशाख १०, २०७८

खुल्यो ६६ करोडको आईपीओ, करिब ६ लाख आवेदकले शेयर पाउने

ज्योतिन्यूज २०७७ फागुन २१ गते १०:४७
IPO

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ विक्री शुरू गरेको छ । ६६ करोड रुपैँया बराबरको शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएकोको कम्पनीले यही फाल्गुण २१ गते अर्थात आजबाट आईपीओ विक्री शुरू गरेको हो । यस अघि फाल्गुण २३ गतेबाट आईपीओ खुलाइने भनिएको भएपनि दुई दिन अघि सारिएको थियो ।

कम्पनीले ६६ लाख कित्ता शेयर बेच्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ।

आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। पछिल्लो समय १५ लाख भन्दा बढी मानिसहरुले शेयर भर्ने कारणले गोलाप्रथाको आधारमा १० कित्ता मात्र पर्ने सम्भावना रहन्छ ।

कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गते आवेदन दिन सकिनेछ। त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ।

अनलाइन प्रणाली मेरो सेयर र आफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ।

इन्सुरेन्सले केही हप्ता अघि कुल चुक्ता पुँजीमा कम्पनीले ३० प्रतिशत साधारण सेयर निष्कासनका लागि बोर्डबाट फागुन ७ गते अनुमति पाएको थियो ।

कम्पनीमध्ये प्रभु र रिलायन्स लाइफले यसअघि नै आइपिओ जारी गरेका छन्।

पछिबाट खुलेका कम्पनीहरु आइएमई, युनियन, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ।

हाल १ अर्ब ५४ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी आईपीओ निष्काशनपश्चात २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी–आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले समय नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित रहेकोे जनाउछ।

५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको कारण ५ लाख ९४ हजार मानिसहरुले मात्र शेयर पाउने छन् । १५ लाख भन्दा धेरै मानिसले शेयर भर्ने भएको कारणले सबैले पाउने सम्भावना भने छैन ।

प्रतिक्रिया