शुक्रबार, वैशाख १०, २०७८

सुनको भाउ यस बर्षकै सबैभन्दा सस्तो

ज्योतिन्यूज २०७७ फागुन २१ गते १२:२३

काठमाडौँ । पछिल्लो समय निरन्तर रुपमा घटीरहेको सुनको भाउ शुक्रवार यस बर्षकै सस्तो भएको छ ।

यस दिन सुन तोलामा ९०० रुपैयाँले गिरावट भएको हो । यस दिन छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएके छ । यस्तै तेजाबी सुनको पनि मूल्य घटेर प्रतितोला ८५ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अघिल्लो दिन सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेर प्रतितोला ८६ हजार ५०० रुपैयाँ तोकिएको थियो । पछिल्लो एक सातामा सुनको मूल्य तोलामा तीन हजार २०० रूपैयाँले गिरावट भएको छ । गत साताको शुक्रबार सुन प्रतितोला ८८ हजार ८०० रूपैयाँ तोकिएको थियो ।

शुक्रबारको कारोबार मूल्य २०७७ कै सस्तो मूल्य हो । २०७७ को पहिलो कारोबार दिन, जेठ २५ गते, सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने सुनको मूल्य निरन्तर उकालो लागेको छ । २०७७ को वैशाखमा कोरोना महामारीले गर्दा जारी गरिएको लकडाउनका कारण सुनको कुनै मूल्य तोकिएको थिएन । २०७६ को अन्तिम कारोबार दिन सुन प्रतितोला ७७ हजार रूपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकमा उल्लेख छ ।

शुक्रबार सुनको मात्र नभई चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । साताको अन्तिम कारोबार दिन चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच हुँदैछ । बिहीबार चाँदी ३० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

एक साताको अवधिमा चाँदी तोलामा ८५ रूपैयाँले गिरावट भएको महासंघले जनाएको छ । अघिल्लो साताको शुक्रबार चाँदी प्रतितोला एक हजार ३३५ रूपैयाँमा खरिदबिक्री भएको थियो ।

यसअघि सुनको भाउ १ लाख ४ हजार रुपैया सम्म पुगेको थियो ।

प्रतिक्रिया