शुक्रबार, वैशाख १०, २०७८

ओली पक्षीय सांसदहरुको बैठक आज बस्दै

संसदको हिउँदे अधिवेशनमा खेल्ने भूमिकाका बारे छलफल हुने

ज्योतिन्यूज २०७७ फागुन २२ गते १२:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाका सांसदहरुको बैठक आज (शनिवार) बस्न लागेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेपछि बस्ने बैठकमा भोलीदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा खेल्ने भूमिकाका बारेमा छलफल हुने जनाइएको छ ।

विषेश गरेर प्रधानमन्त्री ओली विरुद्ध अर्को पक्ष र काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेकाले बैठक त्यसमा बढी केन्द्रीत हुने देखिएको छ ।

अविश्वासको प्रस्ताव दर्ता भएमा त्यसलाई कसरी फेल गराउने वा त्यो भन्दा अगाडि नै राजीनामा दिने भन्ने बारेमा पनि सांसदहरुले आज धारणा राख्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावको सामना गर्ने बताउदै आएपनि विपक्षमा मतदान गर्ने सांसदहरुको संख्या धेरै भएमा पहिले नै राजीनामा दिनु उपयुक्त हुने केही सांसदहरुले सुझाव दिदै आएका छन् ।

नेकपाको दाहाल नेपाल समूहको संसदीय दलको बैठक भने हिजो बसेको थियो । सो बैठकले ओलीलाई दलको नेताबाट हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई नै संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।

आज ओली पक्षीय सांसदहरुको बैठकले भने ओलीलाई नै दलको नेता निर्वाचित गरिएको घोषणा गर्न सक्नेछ ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक पनि हिजो बसेको थियो । बैठकमा अधिकांश सांसदहरुले ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु पर्ने र ओलीसँग सहकार्य गर्न नहुनेमा जोड दिएका थिए ।

प्रतिनिधि सभाको बैठक भोलीदेखि बस्ने भएकाले दलहरुले संसद केन्द्रीत गतिविधिहरु बढाएका छन् ।

प्रतिक्रिया