आइतबार, चैत २९, २०७७

बालुवाटारमा ओलीको ब्रिफिङ – एमालेको क्लास टिचर म, माधवलाई होमवर्क दिने चाहिँ प्रचण्ड ?

सिद्धिने पालो अब एमालेको ?

विशेष संवाददाता २०७७ फागुन २८ गते ७:००

काठमाडौँ । बुधवार प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबूकमा एउटा स्ट्याटस लेखे ।

स्ट्याटसमा प्रधानमन्त्री ओलीको राजीनामाका सन्दर्भलाई उक्काएर भनिएको थियो, ‘प्रचण्डको गृहकार्य बोकी नेकपा(एमाले)मा बसेर यस्तो कोशिस गर्न नखोज्नु नै श्रेयस्कर हुन्छ ।’

थापाले यत्तिकै फेसबूकमा ‘प्रचण्डको गृहकार्य’ शब्द उल्लेख गरेका होइनन् । बालुवाटारमा यसबारे लामै बहस भएको थियो ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने फैसला गरेको भोलिपल्ट साँझ बालुवाटारमा आफ्नो सल्लाहकार टीमसहित केही अन्य नेताहरूलाई पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।

कुरा गर्दै जाँदा ओलीले भने, ‘माधव नेपालहरू अब यता आउने होला । उतै बसे सांसद चैट हुन्छ । कमरेडहरू अहिले यताका न उताका भएर बसिरहेका छन् ।’

त्यसपछि ओलीका असाध्यै निकट मानिने एक नेता बोले, ‘यता आउनु त राम्रै हो । तर प्रचण्डले दिएको  होमवर्क बोकेर आउलान् भन्ने पीर पो छ त !’

प्रचण्डको होमवर्कको प्रसंग आएपछि त्यहाँ उपस्थित सबै हाँसे । त्यसपछि ओलीले भने, ‘एमालेको क्लास टिचर चाहिँ म, अनि धेरै पहिलाका मास्टर प्रचण्डको होमवर्क गर्न खोजे के हाल होला, तपाईंहरूले बुझिराख्नु भएको छ ।’

त्यही सन्दर्भमा भएको कुराकानीलाई लिएर थापाले सामाजिक सञ्जालमा प्रचण्डको होमवर्कको प्रसंग निकालेका हुन् ।

थापाले थपेका छन् – ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्यो रे ? वाहियात ! यो बकवास मात्र हो, उहाँले राजीनामा किमार्थ दिनुहुन्न । सके पाँच वर्ष सरकार चलाउन उहाँको सहयोगी बन्नु, नसके यस्तो निर्देशित छट्टु चालबाजीपूर्ण कुरा नगर्नु नै उचित हुन्छ ! राजीनामाको बेमौसमी बाँसुरी धेरै बजाउन खोज्दा के हविगत भयो र हुँदै जान्छ ? सबैले समयमै स्पष्ट रूपमा बुझ्नु बरू बुद्धिमत्तापूर्ण हुन्छ ।’

यतिबेला बालुवाटार प्रचण्डको होमवर्कसँग त्रसित देखिन्छ । नेकपामै हुँदा पनि प्रचण्डसँग चोचोमोचो मिलाएर ओलीविरुद्धको संघर्षमा होमिएका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र अन्य नेताहरू घरको न घाटको भएको बालुवाटारको निष्कर्ष छ ।

सिद्धिने पालो अब एमालेको ?

एमालेमा नेता नेपालको पक्षमा ओलीकै हाराहारीमा संख्या छ । ७७ मध्ये आधा भन्दा बढी जिल्लामा नेता नेपाल पक्षका अध्यक्षहरू छन् । सांसदहरूको संख्यामा भने टिकट वितरणमा ओलीले झेली गरेका कारण नेता नेपालको हैसियत जम्मा ३३ प्रतिशत रहेको छ ।

नेता नेपालले नचाहने हो भने एमालेको विधान संशोधन हुन सक्दैन । पार्टीभित्र बलियो विरोधी हुनु ओलीका लागि त्यति श्रेयस्कर विषय होइन ।

यही कुरा लिएर बालुवाटार तनावमा छ । विधि विधान र पद्धति नमानेको भन्दै नेता नेपालले धेरै अगाडिदेखि ओलीको आलोचना गर्दै आइरहेका छन् ।

हामीले नेता नेपालनिकट एक स्थायी कमिटी सदस्यलाई सोध्यौं, ‘तपाईंहरूले प्रचण्डको होमवर्क धुम्बाराही गएर गर्ने हो ? के होमवर्क रहेछ ?’

उनले भने, ‘होमवर्क सोमवर्क केही होइन । केपी ओली गुण्डागर्दी शैलीमा उत्रिरहेका छन् । त्यसको प्रतिवाद गर्नु हाम्रै होमवर्क हो । माधवकुमार नेपाल आफ्ना सच्चा नेता कार्यकर्ताको होमवर्क गर्ने मान्छे हो, न केपीको गर्नुहुन्छ, न प्रचण्डको ।’

प्रतिक्रिया