आइतबार, चैत २९, २०७७

विप्लव अब खेति किसानीतर्फ, काठमाडौँमा भाडामा जग्गा खोजिँदै

विशेष संवाददाता २०७७ चैत १४ गते १०:०९

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अब खेति किसानीतर्फ लाग्ने भएका छन् । उत्पादनसँग प्रत्यक्ष जोडिएर राजनीति गर्ने उद्देश्यका साथ सरकारसँग वार्ता गरेर उनले आफ्नो पार्टीमाथि लागेको प्रतिबन्ध फुकाउन लगाएका थिए ।

विप्लवनिकट स्रोतले ज्योतिन्यूजलाई दिएको जानकारी अनुसार काठमाडौँको ४/५ ठाउँमा सयौं रोपनी जग्गा भाडामा लिएर विप्लवको नेतृत्वमा कृषि उत्पादन शुरू हुनेछ । काठमाडौँको चक्रपथ भन्दा बाहिर रहेका कृषियोग्य जमिन हेर्न र भाडामा लिन उनले आफ्नो टीम खटाएका हुन् ।

उत्पादन कार्यको प्रत्यक्ष निगरानी विप्लव आफैंले गर्नेछन् । त्यसका लागि पार्टीमा नयाँ निकाय सिर्जना गरिनेछ । विप्लव आफैं उत्पादन कार्यमा संलग्न हुनेछन् भने पार्टीका नेता कार्यकर्ताहरूले हप्ताको १ या २ दिन कृषि श्रम गर्न जानुपर्नेछ ।

काभ्रेस्थली, तारकेश्वर, मनोहरा कागेश्वरी, दहचोक, दक्षिणकाली, गोदावरी लगायतका ठाउँहरूमा रहेका कृषि योग्य जमिनका बारेमा अध्ययन गर्न एउटा टीमलाई जिम्मेवारी दिएर विप्लव आफूनिकट युवाहरूको सम्मेलनमा राजधानी बाहिर हान्निएका छन् । जग्गा भाडामा लिइनेछ ।

शुरूमा खेती र पशुपंक्षी पालनलाई जोड दिइनेछ भने उत्पादित वस्तुहरूको बजार व्यवस्थापन पनि नेकपाले नै गर्नेछ । उत्पादित वस्तुहरूको खपतका लागि पार्टीकै नेता कार्यकर्ताहरूलाई जिम्मेवारी तोकेर काठमाडौँ लगायत अन्य शहरहरूमा आउटलेट तयार गरिनेछ ।

यस्तो उत्पादन कार्य काठमाडौँमा मात्र नभएर देशका अन्य भू-भागमा पनि शुरू गरिने स्रोतको दाबी छ ।

प्रतिबन्ध फुकुवा हुनुभन्दा करीब १ महिनाअघि बसेको केन्द्रीय समितीको बैठकबाट अब पार्टीले उत्पादनमार्फत जनताको बीचमा रहेर राजनीति गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

२ वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले ‘आपराधिक समूह’ को बिल्ला भिराएर विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता गत फागुन २१ गतेसम्म उनी सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।

पार्टी प्रतिबन्धमा रहँदा राज्यपक्षबाट कतिपय नेता कार्यकर्ताको गैर-न्यायिक हत्या भयो । धेरै नेता कार्यकर्ता पक्राउ परे । उनीहरूलाई अदालतले सफाई दिँदा दिँदै पनि अदालतको गेटबाट पुनः पक्राउ गरिन्थ्यो । यही बीचमा सरकारसँग वार्ताका लागि पहल भएपनि संवादले मूर्त रुप लिन सकेको थिएन ।

तर फागुनको पहिलो सातादेखि सरकार पक्ष र विप्लव पक्षबीच घनिभूत संवाद शुरू भयो । गैर संवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी कदम चालेका प्रधानमन्त्री ओलीमाथि राजनीतिक संकट आइपरेपछि वार्ताको तयारी अघि बढेको थियो ।

सरकारी पक्षबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ र ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र विप्लवका तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउनेसम्मिलित वार्ताले तीन बुंदे निष्कर्ष निकाल्यो ।

पहिलो सबै समस्याहरूलाई वार्तामार्फत समाधान गर्ने, दोस्रो जेल र हिरासतमा रहेका नेता कार्यकर्तालाई छोड्ने र तेस्रो प्रतिबन्ध हटाउने । यतिबेला विप्लव समूहमाथि लागेको प्रतिबन्ध हटाएको भन्दै ओलीले क्रेडिट लिएका छन् भने राजनीतिक अस्थीरताको बीचमा संगठन निर्माण सजिलो हुने निष्कर्षका साथ विप्लव रणनीति बनाउन व्यस्त छन् ।

स्रोतका अनुसार विप्लव उत्पादन क्षेत्रमै बस्नेछन् । ‘उहाँ काठमाडौँको कुनै ठेकेदारको आलिसान घरमा बस्नुहुन्न,’ उनीनिकट एक केन्द्रीय सदस्यले भने, ‘महासचिव कमरेड किसानहरूका बीचमै बस्नुहुने छ ।’

प्रतिबन्धको २ वर्षमा विप्लव नेतृत्वको नेकपाले पश्चिमतिरका कतिपय जिल्लाहरूमा कृषि उत्पादनलाई जोड दिएको थियो । जनतासँग प्रत्यक्ष जोडिएर कृषि उत्पादन गर्ने पार्टीको पहिल्यैदेखिको नीति रहेको ती केन्द्रीय समिति सदस्यले बताए । 

सम्बन्धित समाचारहरू

विप्लव नेकपाले आफ्ना राजनैतिक एजेन्डाहरु फिर्ता लिन तयार भएको हो ?

संविधाननै अस्वीकार गरेका विप्लवसँगको सहमति कसरी कार्यान्वयन होला ?

सबैका आँखा विप्लवतिर, विप्लवका आँखा कता ?

अहिलेको संसदीय व्यवस्था असफल भयो, विकल्प खोजौँ: विप्लव

प्रतिक्रिया