आइतबार, चैत २९, २०७७

ओलीविरुद्ध ‘वृहत समाजवादी केन्द्र’: विप्लवलाई प्रचण्डले समेट्ने,माधवले सिंहदेखि मैनाली

बाबुराम भट्टराई र उपेन्द्र यादवलाई पनि ल्याउने तयारी !

विशेष संवाददाता २०७७ चैत १७ गते १७:३९

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेर पार्टीबाट नै निलम्बन गरेपछि नेता माधवकुमार नेपालले ओलीसँग सँगै बस्न नसकिने निष्कर्ष निकालेका छन् । पार्टीभित्र तनाव बढ्दै गएपछि सोमवार नेता नेपाल र भीम रावललाई ओलीले ६ महिनासम्म पार्टी सदस्यताबाट नै निलम्बन गरिदिएका थिए ।

स्रोतका अनुसार नेता नेपालले नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र अन्य कम्युनिस्ट घटकका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

‘माधव कमरेडले एमाले र सूर्य चिह्नको माया मारिसक्नु भएको छ,’ नेता नेपालसँग छलफल गरेका एक नेताले भने, ‘ओलीले न्यायालयसँग सेटिङ मिलाएर एमाले नाम र चिह्न कब्जा गरिसकेपछि त्यसैको पछि लागिरहनु उपयुक्त नहुने निष्कर्षमा उहाँ पुगेको देख्यौं । उहाँले वृहत समाजवादी केन्द्र बनाउने प्रस्ताव ल्याउनुभएको छ ।’

ती नेताले नयाँ वामपन्थी शक्ति बनाएर अघि बढ्न सकिने सम्भावना रहेको तर त्यसका लागि ठूलो छलफल आवश्यक रहेको बताए ।

नेता नेपालले अब कम्युनिस्ट आन्दोलनलाई ओलीको हातमा छोड्नु घातक हुने भन्दै नयाँ वामपन्थी शक्ति निर्माणका लागि छलफल थालेका हुन् । नेता नेपालले पहिलो चरणमा छुटेका कम्युनिस्ट घटकलाई समेटेर वामपन्थी शक्ति बनाउने र दोस्रो चरणमा माओवादी केन्द्रसँग एकीकरण गर्ने योजना बनाएका छन् ।

प्रचण्डले नेता नेपाललाई ग्रीन सिग्नल दिइसकेका छन् । ओलीले निलम्बनको कारवाही पत्र तयार गरिरहँदा नेता नेपाल कोटेश्वरस्थित एक व्यापारीको घरमा प्रचण्डसँगै छलफल गरिरहेका थिए । नयाँ ध्रुवीकरण आवश्यक रहेको र त्यसका लागि नयाँ तरिकाले जान प्रचण्ड र नेपाल सहमत छन् ।

मोहनविक्रम र सीपी फकाउने माधवको जिम्मा

सोमवार प्रचण्ड र नेपालबीच भएको छलफलमा सबै कम्युनिस्ट घटकलाई एक ठाउँमा ल्याउने, प्रत्यक्ष निर्वाचित कार्यकारीलाई नयाँ नारा बनाउने, जसपाबाट डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई कन्भिन्स गर्ने लगायतका विषयमा कुराकानी भएको स्रोतको दाबी छ ।

प्रचण्डनिकट एक नेताले ज्योतिन्यूजसँग भने – ‘कम्युनिस्ट आन्दोलनमा उबेला रायमाझी प्रवृत्ति देखा पर्यो, दरबारमा लगेर आन्दोलनलाई आत्मसमर्पण गराउने स्थितिसम्म पुगेको थियो । तर हामी संघर्ष गर्दै अघि बढ्यौं । अहिले ओलीले विभिन्न प्रतिगामी शक्तिसँग साँठगांठ गरेका छन् । अन्तर्राष्ट्रिय शक्तिसँग उठबस गरेका छन् र आन्दोलनलाई नै क्षति पुर्याएका छन् । अब हामी नयाँ ढंगले कम्युनिस्ट आन्दोलनको पुनःगठनको दिशामा लाग्नुको विकल्प छैन ।’

उनले जसपाको एउटा शक्ति, मूलधारभन्दा बाहिर रहेका कम्युनिस्ट घटकहरू र भर्खरै खुला राजनीतिमा आएको विप्लव नेतृत्वको नेकपालाई पनि एकै मूलधारमा समेट्न सम्भव रहेको कुरा सुनाए ।

आफूलाई ओलीले कारवाही गर्नुभन्दा अगाडि नेता नेपालले सीपी मैनालीसँग छलफल गरेका थिए । त्यसअघि उनले मोहनविक्रमसँग कुराकानी गरे । दुवै नेताहरू नयाँ समाजवादी केन्द्र बनाउन सहमत देखिन्छन् तर प्रक्रियाका विषयमा भने घनिभूत छलफल आवश्यक पर्ने बताएका छन् ।

विप्लवलाई पनि सँगै लिएर हिंड्न सकिने प्रचण्डको भनाइ

करीब २ वर्षसम्म प्रतिबन्धित पार्टीको रूपमा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि ध्रुवीकरणमा आउन सक्ने सम्भावना रहेको प्रचण्डको बुझाइ छ । नेपालसँगको छलफलमा प्रचण्डले विप्लवसँग आफूले सिधै कुरा गर्ने बताएका थिए ।

विप्लव नेतृत्वले राखेको जनमत संग्रहको मागलाई पनि सम्बोधन गर्ने, प्रत्यक्ष निर्वाचित राष्ट्रपति या प्रधानमन्त्रीको नारा लिएर अघि जाने र एक कदम अघि बढेर समाजवादको व्याख्या गर्ने प्रस्तावका बारेमा दुई नेताबीच छलफल भएको छ ।

तर अहिलेसम्म छलफलले मूर्तरुप लिइसकेको छैन । नेपालनिकट एक नेता भन्छन् – ‘वृहत वामध्रुवीकरणमार्फत ओलीलाई आन्दोलनबाट नएक्ल्याएसम्म नेपालको कम्युनिस्ट आन्दोलन अघि नबढ्ने कुरा प्रष्ट देखिएको छ ।’

ओलीले सत्ताबाट पाउन के बाँकी छ ?

ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिँदै वैचारिक नेता घनश्याम भुसालले ओलीले सत्ताबाट पाउनुपर्ने केही बाँकी नरहेको बताएका छन् ।

‘सत्ता र शक्तिको भोगको हिसाबले तपाईंले पाउन अझै के बाँकी छ ?’ भुसालले प्रश्न गरेका छन्, ‘पार्टीलाई बन्धक बनाएर तपाईंले ती सबै पूरा गर्नुभयो । त्यही अनुपातमा तपाईंले पार्टीको विचार, आदर्श, सामाजिकता जस्ता धरोहरहरू भत्काउँदै जानुभयो । अझै पनि हाम्रा अग्रजहरूको ट्याग बलिदानले निर्माण गरेका केही विरासत बाँकी छन्, जसमा आउने पिंढीले नेपाली जनताको श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रूपमा पुनःजीवित गर्न सक्छन् ।’

अध्यक्ष ओलीलाई घनश्याम भुसालले सोधेका दुई प्रश्न, (पूर्णपाठसहित)

उनले ओली अझै पनि व्यक्तिवादको घोर नशाबाट नब्युँतिए कुनै न कुनै दिन ओली दण्डित हुनुपर्ने भन्दै कठोर पत्र ओलीलाई पठाएका छन् ।

प्रचण्ड-नेपालबीचको छलफलमा प्रायः सधैं उपस्थित हुने भुसालले नेपाली जनताको श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रूपमा कम्युनिस्ट आन्दोलनलाई पुनःजीवित गर्ने अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया