आइतबार, चैत २९, २०७७

केपी र माधवको सम्बन्ध झाना र केशुको जस्तै

शालिक सुवेदी २०७७ चैत २३ गते १६:५६

झानालाई चौपट्ट खुसी देखेँ। सायद चार/पाँच बर्ष भयो उनीसँग मेरो भेट नभएको । वालिङ रहँदा, उनको पुरानो घरगाउँ जाँदा आक्कल झुक्कल भेट हुन्थ्यो । पल्तिर आमा ‘झानाकी बुढी सासु’, सेतेदाइलाई यसो भेट्न जाँदा झाना पनि झुलुक्क देखा पर्थिन् । सेत्दाइकी ठुलो छोराकी श्रीमती हुन् झाना । त्यो घरकी जेठी बुहारी। मेरो घरको पल्लो घर हो सेत्दाइको घर । केशुले अर्को बिहे गरेछ । झानामाथि सौता पर्यो । केशु सेत्दाइको जेठो छोरो । उमेरले म भन्दा जेठो तर मेरो साथी।

केशब काकाले फोन गर्नुभयो । हतारिँदै भन्नुभयो – ‘कृष्ण काकीलाई महाराजगञ्जको न्युरो अस्पतालमा राखेको छ। भेट्न जाउ।’ म तुरुन्तै गएँ । काकी आइसीयूमा हुनुहुन्थ्यो । कृष्ण काका , ध्रुब दाइ बाहिर कुरुवा ।

काकाले होस नआएको भनेर भन्नुभयो । एक साता भएछ होस नआएको । छोरीहरुको बिचल्ली छ । काकाका दुइटी छोरी । कपिलबस्तुको ओदारीमा साना दुइटी छोरीलाई छोडेर काका काकीको उपचार गर्न आउनुभएको थियो । काकीको होस छैन । सास फेरेको पनि हो होइन थाहा छैन । काका आत्तिनु भएछ । डाक्टरले काकी बाँच्ने कुरा पनि गर्दैन रे । मृत घोषणा पनि गर्दैन । कस्तो दुखद छ जीवन । न त जिवीत न मृत । एक खुमारी जीवन; बुढा पाकाले भन्ने गरेको सम्झेँ । कत्ति पनि दुख नपाइ मर्न पाउँ । न मर्नेलाई दुख होस,  न बाँच्नेलाई । यहाँ ठीक उल्टो भइरहेको छ । मर्नेलाई मर्न दुख छ । बाँच्नेलाई कुर्न दुख छ । काका थकित छन् । काकीको जिवीत/मृत शरीरमा उनी आफै कहिले मरेका जस्तो त कहिले जिवीत जस्तो बन्छन् ।

म अस्पतालमा कुरीरहेको छु । बिरानी काकीलाई र बिरामी काकालाई । साँझपख एकजना डाक्टरले बिरामीको आफन्तलाई भित्र डाके ।

काकाले जबर्जस्ती मलाई पठाए । ध्रुव दाइले पनि मलाई नै धकेले । म र डाक्टर । अर्को एकजना पनि थिए । उनी को हुन् चिन्दिन । मलाई दुवैले चिन्छन् । डाक्टरले स्पष्ट भने मसँग कि काकी बाँच्दिनन् । भेन्टिलेटरमा राख्दासम्म मुटु चलिरहन्छ । भेन्टिलेटरबाट हटाएको तीन चार घन्टामा त्यस्तो बिरामीको मृत्यु हुन्छ रे । डाक्टर त्यही भन्छन् । काकी बाँच्दिनन ढुक्क छ । कृत्रिम अक्सिजनले चलेको मुटुले मान्छे चलाउदो रहेनछ। कृत्रिम अक्सिजनले मुटु त चलाउछ । तर न मान्छे,  न मन, न मष्तिस्क चल्दो रहेछ ।

काकीको मृत्यु भयो । डाक्टरले अक्सिजन निकाल्दिए । काकी एकैछिन मात्र बाच्नुभयो । मलाई दुख लाग्यो । आँसु आएन, देखिने गरी तर मन भने नमिठोसँग रोइरह्यो । काकालाई त्यति निरास देखिन तर खुसी चाहिँ होइन । मानिस कहिले बाचिरहँदा खुसी हुन्छ त कहिले नबाँच्दा । कहिले बचाउनलाई निकै कोशिस गर्छ त कहिले मरोस भनेर भाकल गर्छ । बडो विचित्रको छ मान्छेको स्वार्थ चरित्र पनि । मानिसको सम्बन्ध कपासको धागो जस्तो हो । मिलाएर कात्यो बलियो धागो पनि हुन्छ, पवित्र बाती पनि। अलिकती मिलेन फिस्स चुड्छ । निर्मला यही भन्छिन् । मलाई छोयो, घत लाग्यो ।

प्रधानमन्त्री केपी ओली पनि बिरामी परे । त्रिवि शिक्षण अस्पतालमा पटक पटक उपचार गर्नुपर्यो । मिर्गौलाका बिरामी उनी । देशका प्रधानमन्त्री पनि । अस्पतालमा नै बस्नु पर्यो केही दिन । माधब नेपाल भेट्न पनि गए। अस्पतालको शैय्यामा बातचित भयो । संवाद राम्रो भएन सायद, त्यही आयो बाहिर खबर ।

अस्पतालको शैय्यामा बसेकी काकीलाई सम्झेँ अनि काकालाई पनि ।

केशु र झाना एउटै घरमा लामो समय बसे । घर एउटै थियो । सम्बन्ध एउटै थियो लोग्ने, स्वास्नीको । तर भान्सा र शैय्या फरक थियो । सम्बन्ध फगत बाध्यात्मक थियो । सामाजिक र साँस्कृतिक सम्बन्ध । मानसिक र पवित्र सम्बन्ध पटक्कै थिएन । मन जोडिएको थिएन । सम्बन्धको निरन्तरताले स्वतन्त्र जीवनको घाउ पाकिरहेको थियो । केशव छुट्टिन चाहन्थे । झाना पनि । सामाजिक परिवेश, पारिवारिक बाध्यताले चुडिएको सम्बन्ध जबर्जस्त जोडिएको मात्रै थियो । दुवै दुखी थिए, केपी र माधव जस्तै ।

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले पार्टी अध्यक्ष के पी ओलीलाई केन्द्रीय समितीबाट निकाल्यो । संसदीय दलबाट पनि हटायो । माधव र प्रचण्ड मिले । ओलीलाई बादलले साथ दिए । सर्वोच्चले माधव प्रचण्डलाई छुट्टाइदियो । ओली र नेपाल एउटै पार्टीमा छन् । केशु र झाना एउटै घरमा भए जस्तै । भान्सा र शैय्या फरक छ । तर घर एउटै ।

कृष्ण काकाले विहे गरे । मलाई निर्मलाले सुनाइन । ‘ए हो !’ मैले अलिनो जवाफ फर्काएँ ।

‘कोसँग भनेर पनि सोध्नु भएन,’  निर्मला प्रतिप्रश्न गरिन् ।

‘भन न कोसँग ?’ मैले सोधें ।

झानासँग । निर्मलाको स्वरमा विनोद थियो । खुसीको आभा सुगन्धसहित ।

मैले कृष्ण काका सम्झेँ । झाना सम्झेँ । झानालाई परिवारले एक्ल्याएको सम्झेँ । दशैँ,तिहार, तीज जस्ता चाडहरु पनि सम्झेँ । निर्मलाबिनाको मेरो जीवन सम्झेँ । मबिनाको निर्मलाको जीवन पनि सम्झेँ । निकै कठिन पाएँ । सायद सकिदैन होला हामी अब एक अर्काबिना सहजै जिउन । न निर्मला, न म । झाना भने बाँचिरहिन् । रातो सारीमा कोरा मन लिएर, उनी तीजमा व्रत पनि बसिन् ।

२५ वर्षअघि आमाको मागअनुसार बाले तराइमा जग्गा किन्नु भएको रहेछ । कृष्ण काकाकै घर नजिकै । बाले तराइ जाउँ भन्नुभयो । बा र म तराइ गयौँ । तारा काकाकोमा बिहानको खाना खायौँ । अनि हिड्यौँ हाम्रो जग्गातिर । तारा काकाका भाइ कृष्ण काका । पारीपट्टी कृष्ण काकाको घर थियो । घरमै स्टेसनरीको पसल । पसलमा झाना । हसिली,  लामो समयको खडेरी पछिको उर्वर भूमिको हरियाली प्रतिबिम्बित । लुकेका र जबर्जस्त लुकाइएका कान्ती एकैचोटी पोखिए जस्तो । झाना पुलकीत थिइन् । बाटैबाट बाले चिच्याउनुभयो – ‘झाना ! ए झाना !’ एकचोटी होइन, दुईचोटी होइन । धेरै पटक । झानाले पुलुक्क हेरिन् । मुसुक्क हाँसिन् । हामीलाई भेट्न आउन खोजिन् । पसलमा किन्ने मान्छेको भीड थियो । सामान बेच्न छाडेर हामी भेट्न उनी पनि आउन सकिनन् । गाडी रोकेर उनलाई भेट्न समयको सीमाका कारण हामी पनि जान सकेनौँ । टाढैबाट हामीले एक अर्कालाई आ-आफ्नो मर्यादाअनुसार शुभेक्षा साट्यौँ ।

ओलीले माधव नेपाल र भीम रावललाई कारवाही गरे । घनश्याम र सुरेन्द्र पाण्डेलाई पनि । उनीहरूलाई ६ महिना निलम्बन गरियो । आफूले बनाएको घरबाटै निकालिए माधव र उनीनिकट नेताहरू । करीब चार दशकको सम्वन्धमा चीरा पर्यो । प्रतिशोधको भयावह ज्वाला निस्कन्छ, आजकल उनीहरुको अभिव्यक्तिमा । एक अर्काको अस्तित्व अस्वीकार गर्छन् । खुसी छैनन् माधव,  न के पी नै खुसी होलान् । समानान्तर बैठक हुन थालेका छन् । कमिटीहरु पनि समानान्तर नै बनिरहेका छन् ।

जीवन छोटो छ । यो छोटो जीवनलाई खुसी र सुखी बनाउन सम्बन्ध थप्दै जाने हो । यदि ती सम्बन्धले जीवनलाई कठिन र दुखी बनाउँछ भने जबर्जस्त लोकका लागि भन्दै बचाइराख्न जरुरी छैन । जबरजस्त जोगाउन खोजियो भने त्यो के पी ओली र माधव नेपालको जस्तो हुन्छ । एकदिन चुडिन्छ । पक्का चुडिन्छ । छिटो चुडिनु ठीक ।

प्रतिक्रिया