सवारी र उद्योग बन्द गर्नुपर्ने सम्भावना
पोखरा र लुम्बिनीमा पनि अत्याधिक प्रदूषण

काठमाडौँ । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ ।
राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो ।
वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि हिजोदेखि बढेको हो ।
उहाँले भन्नुभयो, ‘अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा बन्द गरेर भए पनि कम गर्नुपर्ने अवस्था आउन सक्छ । देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले नेपालको वायु प्रदूषण दोहोरिएको उहाँले बताउनुभयो ।’
वायुमण्डलमा प्रदूषण बढेको वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा थपिँदै गएको छ । बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकाङ्कमा नेपालको काठमाडौँ सहर पहिलो नम्बरमा छ ।
पोखरा र लुम्बिनीमा पनि अत्याधिक प्रदूषण
यसैबिच, देशको प्रमुख पर्यटकीय गन्तव्यहरु पोखरा र लुम्बिनीमा पनि वायु प्रदूषणको उच्च प्रभाव देखिन थालेको छ ।
तुँवालोले ढाक्दा आज पोखराको हवाइ उडान पुनः प्रभावित भएको छ । वायु प्रदूषणले भिजिविलिटी नहुँदा झन्डै एकसाता अवरुद्ध रहेको उडान गत बिहीबारदेखि सुचारु भएको थियो ।
सोमबारदेखि प्रदूषण बढेपछि पुनः हवाई उडान प्रभावित भएको हो । तुँवालोका कारण ५ किलोमिटरसम्म भिजिविलिटी नपुग्दा उडान प्रभावित भएको हो ।
त्यस्तै लुम्बिनीमा पनि प्रदूषण बढेको छ । अन्तर्राष्ट्रिय पर्यटकीय तथा धार्मिक स्थल लुम्बिनीमा पनि वायु प्रदूषण मात्र बढेको हो ।
भैरहवा–लुम्बिनी कोरिडोरमा सञ्चालित दर्जनौं ठूला उद्योगले उत्सर्जन गर्ने धुँवा, धूलोका कारण विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्र प्रदूषित बनेको हो ।
प्रतिक्रिया