आइतबार, चैत २९, २०७७

विशेष सम्पादकीय : श्रमजीवी पत्रकारको कसीमा महासंघका उम्मेदवार

ज्योतिन्यूज २०७७ चैत २५ गते १५:०३

छ दशक भन्दा लामो इतिहास बोकेको नेपाल पत्रकार महासंघ श्रमजीवी पत्रकारको हक-अधिकार प्रवर्द्धन गर्ने लक्ष्यका साथ अघि बढेकोमा दुई मत छैन । पत्रिका, रेडियो, टिभी अनलाइन र स्वतन्त्र सहित करीब १३ भन्दा बढी पत्रकार आबद्ध रहेको महासंघको निर्वाचनलाई यतिबेला सबै श्रमजीवी पत्रकारहरूले निगरानी गरिरहेका छन् ।

यो सम्पादकीय लेख्दासम्म महासंघमा मतदान जारी छ । मतदानअघि पदका प्रत्यासीहरूले मतदातासमक्ष गरेको वाचा सम्भवतः फोनको रेकर्ड या एसएमएसमा सुरक्षित रहनेछ । यो कुरालाई प्रत्यासीहरूले राम्रोसँग मनन गर्नुपर्ने देखिन्छ ।

विगतमा कोरोना या अन्य कारण देखाउँदै सञ्चारगृहहरूले पत्रकारको न्यूनतम पारिश्रमिक पनि नदिएको यथार्थ सबै सामू छर्लंग छ । श्रमजीवी पत्रकारहरूले विभिन्न मिडिया हाउसको ढोकैमा पुगेर आन्दोलन पनि गरिरहेको स्थिति छ ।

महासंघको चुनावको एउटा दुखद पक्ष के पनि हो भने आफ्नो मिडियाबाट श्रमजीवी पत्रकारमाथि शोषण गर्नेहरू पनि कतिपय उम्मेदवार बनेका देखिन्छन् । उनीहरूबाट वास्तविक रूपमा श्रमजीवी पत्रकारको अधिकारको प्रत्याभूति हुन सक्दैन । फेरि पनि मत हाल्ने जिम्मा पत्रकारकै हो ।

यसअघि जस्तै प्रेसप्रति कुनै पनि सरकारहरू त्यति उदार भएको उदाहरण छैन । वर्तमान सरकार र विशेष गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेलामा पत्रकारिताप्रतिको आफ्नो कुण्ठा पोख्ने गरेका छन् । मिडिया काउन्सिल विधेयक होस् या अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउने अन्य कुनै कानून होस्, यस्ता राजकीय अस्त्रहरूको प्रयोग गरेर संविधानले दिएको प्रेस स्वतन्त्रतालाई हनन् गर्ने प्रयासहरू जारी छन् ।

पत्रकार महासंघले श्रमजीवी पत्रकारको हक अधिकारको संरक्षण र सम्वर्द्धन गरेर मात्र पुग्दैन । पत्रकारिताका नयाँ आयामहरूमा पनि बहस चलाउनुपर्ने आवश्यकता देखिन्छ । स्वतन्त्र पत्रकारितासँगै शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायालय, लोकतन्त्र, प्रेस स्वतन्त्रता जस्ता आधारभूत लोकतान्त्रिक मान्यता जोडिएका हुन्छन् ।

महासंघको नेतृत्व व्यावसायिक र निष्पक्षतामा केन्द्रित हुनु हुनुपर्नेमा कुनै द्विविधा छैन । त्यसभन्दा बढी महासंघले पत्रकारको क्षमता विकासमा ध्यान दिनुका साथै गर्न हुने र नहुने कामबारे जानकारी गराउन आवश्यक छ । पत्रकारले सत्य तथ्य तथा निष्पक्ष सूचना प्रेषण गर्न ध्यान दिनुपर्छ ।

यतिबेला महासंघको नेतृत्वलाई पनि सबै जिम्मेवारीको भारि बोकाउनु हुँदैन । कतिपय जिम्मेवारीहरू पत्रकार आफैंले पनि बहन गर्नुपर्ने हुन्छ । महासंघलाई सदैव जिम्मेवार बनाउने ठूलो जिम्मेवारी पत्रकारको काँधमा पनि आइपरेको छ ।

महासंघमा उठेका कतिपय पदाधिकारीलाई राजनीतिक दलसँग जोडेर हेर्ने गरिएको छ । दलसँगको आबद्धता सम्बन्धित उम्मेदवारले प्रष्ट पार्नुपर्ने हो । अहिलेसम्म त्यो प्रष्ट पारिएको छैन । कतिपय उम्मेदवारमाथि नैतिकताको प्रश्न पनि उठेका छन् । पत्रकारहरूले मतमार्फत नै उनीहरूमाथि उठेको नैतिक प्रश्नको हल गर्ने हैसियत राख्नेछन् ।

महासंघ आफैंले तय गरेका निम्न उद्देश्यहरू पूरा गर्न आजको निर्वाचनबाट आउने नेतृत्व पूरापूर जिम्मेवारीका साथ लाग्नेछन् भन्ने आशा गरौँ ।

नेपाली पत्रकारहरुलाई संगठीत गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरुको हक अधिकार प्रवद्र्धन तथा संरक्षण गर्न क्रियाशिल रहने ।

उत्तरदायी, मर्यादित र जिम्मेवार पत्रकारिताको संस्थागत विकासमा क्रियाशिल हुँदै स्वतन्त्र प्रेसको विश्वव्यापी मर्म, मान्यता, आचार र आदर्शहरुलाई परिपालन गर्ने ।

सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशिल रहने ।

श्रमजीवी पत्रकारहरुको उचित श्रम अभ्यास र पेशा तथा रोजगारीको अधिकारको संरक्षणका लागि नेतृत्व प्रदान गर्ने ।

पत्रकारिता क्षेत्रसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुसँग सम्बन्ध विस्तार गर्ने तथा विभिन्न देशका संघ, संस्थाहरुसँग प्रतिनिधिहरु आदन प्रदान गर्ने ।

पत्रकारिता क्षेत्रसँग सम्बन्धित विषयहरुमा बैठक, भेला, सभा, सम्मेल, गोष्ठि, अन्तक्र्रिया प्रशिक्षण लगायत अन्य विभिन्न रचनात्मक गतिविधिहरु सञ्चालन गर्ने र पुस्तक, पत्रपत्रिका, कार्यक्रम तथा प्रतिवेदन प्रकाशन वा उत्पादन गर्ने ।

राष्ट्र समाज र आम नागरिक तथा पत्रकार जगतको हितका साथै स्वच्छ पत्रकारिताको प्रवद्र्धनका निम्ति सक्रिय रहने ।

प्रेस स्वतन्त्रताको प्रतिरक्षाका लागि आवश्यक अन्य काम गर्ने ।

प्रतिक्रिया