आइतबार, चैत २९, २०७७

आरबीबी एनभीए: एपीएफ फाइनलमा

ज्योतिन्यूज २०७७ चैत २६ गते ७:२६

काठमाडौं । विभागीय एपीएफ क्लब पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बुधबार भएको खेलमा हेल्प नेपाल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफ फाइनल पुगेको हो ।

फाइनल पुग्ने क्रममा एपीएफले हेल्प नेपालमाथि २५-१८,२५-१८ र २५-२३ को सेटमा पाखा लगायो ।

यस जितसँगै एपीएफ लिगको दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । एपीएफले अब फाइनलमा हेल्प नेपालसँग नै खेल्नेछ ।

जितपछि एपीएफले ६ खेलमा १३ अंक जोड्यो । एपीएफ दोस्रो स्थानमा रह्यो । हेल्प नेपाल १५ अंकका साथ शीर्ष स्थानमा रह्यो ।

महिलातर्फको फाइनलमा न्यु डाईमण्ड र नेपाल पुलिस क्लब भिड्ने छन् । फाइनल खेल बिहीबार हुनेछ ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया