आइतबार, चैत २९, २०७७

भारतमा एकैदिन १ लाख २६ हजारमा काेराेना पुष्टि

ज्योतिन्यूज २०७७ चैत २६ गते ९:४६

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहरले विकराल रूप लिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा एक लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार बुधबार एकैदिन १ लाख २६ हजार जनामा संक्रमण पुष्टि भएको हो । भारतमा कोरोना महामारी सुरु भएयताकै यो संक्रमित संख्या उच्च हो ।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ६८४ जना कोरोना संक्रमितको मत्यु भएको छ । योसँगै संक्रमित मृतकको कुल संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ ।

भारतमा बढीरहेको संक्रमणको सिधा असर नेपालमा परेको छ । नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा ३३९ जना संक्रमित थपिएका छन् । खुला सिमाना भएका कारण भारतमा संक्रमित संख्या बढेसँगै नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार प्रेस ब्रिफिङका क्रममा भारतमा संक्रमण बढीरहेको स्पष्ट पार्दै नेपालमा त्यसको सिधा असर पर्ने हुँदा उच्च सर्तकता अपनाउँदै जनस्वास्थ्यमा मापदण्डको पालना गर्न आम नागरिकलाई आग्रह गरेका थिए । भारतमा संक्रमण दर बढ्दै गर्दा नेपाल यसको उच्च जोखिममा रहेको उनको भनाइ छ ।

यस्तै संक्रमण फैलन नदिन सरकारले भिडभाड नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार साँझ एक सूचना जारी गर्दै सार्वजनिक स्थलहरुमा भिडभाड नगर्न आग्र गरेको हो । विश्वव्यापी रुपमा कोभिड संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बढ्दै गएको तथा नेपालमा समेत संक्रमण दर बढी देखिएकोले भिडभाड नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

साथै मन्त्रालयले ठूला सरहमा ५ सयभन्दा बढी र साना सहरमा १ सय भन्दा बढी संक्रमित भए आवागमन बन्द गरिने, विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने नियमका कडाइ गरिने बताएको छ । यस्तै शैक्षिक संस्था, सपिङ मल, सिनेमा हल, नाचघर, क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरमा लगायतका स्थानमा भिडभाड नगर्न आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया