आइतबार, जेठ २, २०७८

विदेशको भिसा नलाग्नु कुलेन्द्रका लागि ‘गुड लक’

गोमा परियार २०७७ चैत २८ गते १०:४०

‘सालको पात टपरी हुने, हे बरै नहुने सल्लैको…।’
तिम्रो माया कति छ कति, हे बरै नलाउ पछि हल्लैको…।’

लोकदोहोरीको इतिहास रचेको, लोकदोहोरीलाई चिनाउने र जेष्ठ नागरिकदेखि बालबालिकासम्मको मुखमा झुन्डिएको गीत हो यो । गीतले उधुमै मच्यायो । गीतका गायक हुन् कुलेन्द्र विश्वकर्मा । पर्वतको एउटा सामान्य किसान परिवारमा जेठो सन्तानका रुपमा जन्मिएका हुन् कुलेन्द्र । गीत गाउने रहर र धोको बोकेका कुलेन्द्रलाई आफुँ ‘गायक बन्छु’ भन्ने सानैदेखि लाग्थ्यो ।

विदेश जान काठमाडौंको यात्रा…
कुलेन्द्रको गायक बन्ने सपना र इच्छा भए पनि परिवारको आर्थिक अवस्था कमजोर थियो । यतिमात्र नभई घरको जेठो छोरो र जिम्मेवारी पनि उनकै काँधमा । यहि कारण एसएलसी दिएपछि विदेश जाने निधो गरे ।

विदेश पुगेर केहि वर्ष कमाएर फर्किन्छु अनि आर्थिक अवस्था सहज भएपछि गायनमा लाग्छु भन्ने सोच बोकेर २०५९ सालमा काठमाडौं आए ।

त्यतिबेला कुलेन्द्र १५–१६ वर्षका थिए । विदेश जानका लागि भिसा लगाएका कुलेन्द्रको उमेर नपुगेर भिषा लागेन र उनिसँगका साथी कतार उडे तर उनि जान पाएनन् ।

उनि भन्छन्– ‘मेरो उमेर नपुगेर विदेश यात्रा रोकियो, साथीहरु सबै उडे त्यो मेरो ब्याडलक होइन गुड लक थियो ।’

विदेश यात्रा रोकिएपछि निराश बनेका कुलेन्द्रलाई सिधैं कलाकारितामा प्रवेश गर्न बाटो खुल्यो । अनि काठमाडौंमै बसेर संघर्ष गर्ने र गायनमा लाग्ने निर्णय लिए ।

त्यो बेलामा काठमाडौंमा कुलेन्द्रले धेरै संघर्ष गर्न परेका पल बताउँछन् । काठमाडौंमा उनले गरेको संघर्षको एक पाटो हो ‘धौलागिरी दोहोरी साँझ ।’ कुलेन्द्र ललितपुर बस्थे काठमाडौंको पुतलीसडकमा रहेको दोहोरी साँझमा काम गर्ने मौका पाए ।

कुलेन्द्रले त्यहाँ मादल बजाए तर, गाउन पाएनन् । गीत गाउन पाउने त्यो पलको पर्खाइमा भने उनि व्यग्र प्रतिक्षामा थिए । उनको त्यो प्रतिक्षा पनि सकियो र गीत गाउन पाए ।

उनले गीत गाए र पहिलोपटकमै ग्राहकको मन जिते पनि । त्यहि दोहोरी साँझमा गाउने क्रममै उनको पहिलो गीत ‘के छ हालचाल’ बजारमा आयो पहिलो गीत भनेजति चर्चामा नरहे पनि ठिकै भएको उनि बताउँछन् ।

गीत गाएर बिदेशको यात्रा…
कुलेन्द्रको लोकदोहोरी क्षेत्रमा प्रवेशको समयमा राजु परियारको एकछत्र राज थियो । तिनै राजुको स्वरलाई प्रेरणा मानेका कुलेन्द्रलाई राजुले ‘साइड ए’ मा स्वर भरेको एल्बमको ‘साइड बी’ को गीतमा स्वर दिन पाउनु भाग्यको कुरा थियो ।

यहि बिचमा २०६२ सालको अवधिमा ‘पश्चिम पूर्वको’ गीत गाएर कुलेन्द्र बहराइन लागे । त्यहाँ कामसँगै गाउने मौका पनि भएकोले उनि त्यसतर्फ लागेका थिए तर, मन गीतसंगीतमै थियो जसकारण त्यहाँको बसाइ निकै कठिन लाग्यो कुलेन्द्रलाई ।

कुलेन्द्र बहराइन थिए यता (नेपाल) मा उनले गाएको गीत ‘पश्चिम पूर्वको’ अत्यधिक रुचाइयो र चर्चामा आयो ।

उनको खोजी हुन थाल्यो । ‘म बहराइन थिए यहाँ गीत हिट भएछ, मलाई एरेन्जर, संगीतकार र गीतकारले दैनिकजसो फोन गरेर तपाई अब नेपाल आउनुस् तपाइले काम गर्ने वातावरण बनिसकेको छ भनेर भन्न थाल्नुभयो र म तीन महिना मै नेपाल फर्किए ।’ कुलेन्द्रले भने । छोटो समयमै धेरै माया पाएका र सफल पनि भएका कुलेन्द्रले आफुलाई भाग्यमानी कलाकार मान्छन् ।

गीत गाउन भ्याइनभ्याइ…
तीन महिनापछि नेपाल फर्किएका कुलेन्द्रले त्यहि बेला गाएका हुन् ‘ नजाउ है सानु पधेँरीमा, ‘जोगीको भेषैमा’, ‘जिम्बल बाको आँगनीमा’, ‘हाँस्न सिकायौ’, ‘डाँडै फुर्के सल्लो’, ‘मायाले के–के गरायो’, ‘तिमीलाई पछुतो हुने दिन, ‘एकतर्फी माया’…आदि । जुन गीत त्यो बेलामा निकै चले र दर्शकस्रोेताको मनमा बसे । अझैँ भनौ सदाबहार दोहोरी गीत पनि बने ।

पछि कुलेन्द्रले दैनिक १२ वटासम्म गीत गाउन भ्याए । त्यो बेला उनलाई दैनिक तीन–चारवटा गीत रेकर्ड गर्नु सामान्य थियो । लगातारको गीत र गीतले कमाएको चर्चा दर्शकश्रोताको माया यि सबै कुराले कुलेन्द्रको लोकप्रियता र माग चुलियो ।

स्वदेशमा हुने मेला–महोत्सवको मुख्य आकर्षक बनेका कुलेन्द्रले गीतकै शिलशिलामा विदेशको यात्रा पनि धेरै पाए । कुलेन्द्रले तीन हजार बढि गीत गाइसकेका छन् । कुलेन्द्रले सबै गायिकासँग गीत गाइसकेका छन् तर विष्णु माझी र देवि घर्तीसँग गाएका गीतहरु बढि चर्चामा छन् ।

अनि आयो ‘सालको पात’…
नवराज पन्तको शब्द तथा बसन्त थापाको संगीतमा २०७५ सालमा ‘सालको पात’ बोलको गीत सार्वजनिक भयो । गीतका गायक स्वयम् कुलेन्द्रले अभिनय पनि गरे । कुलेन्द्रसँगै संगीतकार बसन्त र कलाकार मरिस्का पोखरेलले अभिनय गरे ।

कुलेन्द्रले आफुले गाएको गीतमा अभिनय गर्ने मिलन लामापछि दोस्रो कलाकारका रुपमा आफुलाई नै मान्छन् । त्यसो त कुलेन्द्रले अन्य कलाकारका गीतमा पनि अभिनय नगरेका होइनन् । बजारमा आएर उधुमै मच्चाएर गीतले युट्युवमा दोहोरी क्षेत्रमै सबैभन्दा बढि हेरिएको भनेर रेकर्ड राख्यो ।

कुलेन्द्र भन्छन्–‘यो गीतले मेरो अझैँ लोकप्रियता र माग बढाएको हो ।’ आफ्नो मात्रै नभएर यो गीतसँग जोडीएका सम्पुर्ण टिमकै जीवन परिवर्तन गरेको उनको भनाइ छ ।

‘सालको पात टपरी हुने….।’ जुन गीत कुलेन्द्रले मेला महोत्सवमा एकैपटक दर्शकको आग्रहमा आठ पटकसम्म गाएका छन् ।

सुखी भन्दा खुसी कुलेन्द्र…
सुखी भन्दा पनि खुसी बन्न सक्नुपर्नेमा उनको जोड छ । उनि भन्छन्– सुख भनेको ल्याउने, कहिलेकाहि आउने हो तर, खुसी भनेको जहिले पनि स–साना कुरामा हुनसक्ने कुरा हो त्यसैले ‘सुखी भन्दा पनि खुसी हुनपर्छ, म जिन्दगीमा धेरै खुशी छु ।’

बा–आमा, श्रीमती र दुई छोरीसँगको खुसी जिवन बाँचेका उनि नेपालकै चर्चित र सबैको मनमा राज गरेका कलाकारमा पर्छन् ।

गोमा परियार

पत्रकार परियार ज्योति न्यूजको लागि जीवनशैली, कला र मनोरञ्जन क्षेत्रमा कलम चलाउँछिन् ।

प्रतिक्रिया