आइतबार, जेठ २, २०७८

समाज र विज्ञान

हीरालाल चालिसे, 'हरि' २०७७ चैत २८ गते १३:३९

मानव समाज अनादि कालदेखि थिएन । आदिम मानवको चेतनाको विकाससँगै समाजको उत्पति भएको मान्न सकिन्छ । किनभने स्वयं मानव इतिहासको एउटा कालखण्डमा उत्पन्न भएको थियो, करिब साठी लाख वर्ष अगाडि। त्यसकारण मानव समाजपनि विगतकालमान उत्पन्न भएको हो । तर मानव विकास परिवर्तन र विकासको क्रममा छ । समयको परिवर्तन र प्रविधिको विकाससँगै समाजको पनि विकास हुँदै गएको हो ।

विगतमा मानव समाज  वर्तमान कालको समाज जस्तो थिएन । आफ्नो उत्पत्ति कालदेखि धेरै परिवर्तनको श्रृंखला पार गरेर यो आजको अवस्थामा आइपुगेको छ । त्यस बेला मानिसले सुरक्षाका लागि समूहमा बस्नुपर्ने, सामूहिकरुपमा खाना खोज्ने र खोज्दा सजिलो हुने भएकाले यिनै आवश्यकता पूरा गर्नकालागि समुहिकताबाट समाज निर्माण हुन पुगेको हो ।

त्यस बेलाका ती आवश्यकता ले समाज निर्माण हुन पुग्यो भने वर्तमानमा अहिलेका आवश्यकताहरुले समाजको विकास र परिवर्तन गराइरहेको छ, जुन निरन्तर चलिरहने छ । वास्तवमा समाजमा परिवर्तन र विकास स्वतः हुँदैन । अथवा समाज स्वयं परिवर्तनशील र विकासशील छैन । त्यसको लागि एउटा निश्चित शक्ति अथवा तत्वले काम गर्दछ । त्यो शक्ति वा तत्व भनेको ज्ञान, सामाजिक आवश्यकता वा बाध्यता हुन सक्दछ ।   विगतमा समाज परिवर्तन र विकास कार्य मानव श्रमले गरेको थियो ।

ज्ञान बिनाको मानव र विज्ञान बिनाको समाज अब परिकल्पना गर्न नसकिने परिस्थिति वर्तमान समयमा सृजना भएको छ ।

मानवको वौद्धिक एबम् शारीरिक श्रमले स्वयं मानवलाई पशुबाट मानव बनाउन महतत्वपूर्ण भूमिका खेलेको थियो । अहिले विज्ञान तथा प्रविधिको विकासले समाज र सामाजिक जीवनशैली  चाहेर वा नचाहेर परिवर्तन तिब्र गतिमा भई रहेको छ ।   

हीरालाल चालिसे, हरि

समाज विकास तथा परिवर्तनको इतिहास हेर्दा पहिलेको समाजमा मानविय श्रमले कति अनौठा र एतिहासिक काम गरेका थिए भन्ने कुरा विश्वका केही आश्चर्यहरुलाई हेर्दा थाहा हुन्छ । जस्तै इजिप्टको पिरामिड, बेबिलोनको झुलन बगैंचा, चीनको ग्रेट वाल अफ चाइना, इटलीको झुकेको धरहरा, आदि सबै मानिसको सामूहिक वौद्धिक एबम् शारीरिक श्रमकै उपज थिए । 

तर अहिले युरोपको औद्योगिक क्रान्तिले विकास गरेको पूँजीवादी समाज जसलाई आज हामी  आधुनिक  समाज भन्छौं, जहाँ  सामूहिक मानविय श्रमभन्दा पनि धेरै शक्तिशाली तत्वको  रुपमा विज्ञान तथा प्रविधि आएको छ ।  विज्ञान तथा प्रविधि समाज परिवर्तन र विकासको  प्रमुख माध्यम बनेको छ । तर अल्प विकसित देशलाई भने परनिर्भर हुन बाध्य बनाएको छ । 

वर्तमान आधुनिक युगको मुख्य उत्पादकको र परिवर्तनको संवाहक विज्ञान तथा प्रविधि हो । विज्ञान तथा प्रविधिकै माध्यमबाट विश्व समाजमा आमूल परिवर्तन भएको छ । विज्ञानतथा प्रविधिको विकास यस चरणमा पुगेको धेरै समय भएको छैन तर यसको प्रभाव भने अत्यन्त क्रान्तिकारी र चमत्कारिक हुनगएको छ ।

विज्ञान तथा प्रविधिको आरम्भ प्राचीनकालदेखि नै भएको भए पनि त्यस बेला यो मानव श्रमको सहायकको  रूपमा मात्र देखिन्थ्यो । मध्यकालमा अझ धर्मको नियन्त्रणमा  रहन पुग्यो । आधुनिक कालको शुरुवातपछि अर्थात् औद्योगिक क्रान्ति पछि मात्र यसले क्रमशः आफ्नो स्वतन्त्र अस्तित्व प्राप्त गर्यो ।

औद्योगिक क्रान्तिको  समयदेखि हालसम्ममा यसले प्रभुत्यो देखाइरहेको छ । यसरी हेर्दा विज्ञान र समाजबीच निकटतम सम्बन्ध कायम रहेको छ। विज्ञान सामाजिक ज्ञान र आवश्यकताबाट नै विकास भएको हो ।

विज्ञानले अहिले जति पनि वस्तु हरु उत्पादन गरेको छ ती कुनै न कुनै रुपमा कुनै कालखण्डमा समाजको आवश्यकता थियो । त्यसैले ज्ञान बिनाको मानव र विज्ञान बिनाको समाज अब परिकल्पना गर्न नसकिने परिस्थिति वर्तमान समयमा छ । 

प्रतिक्रिया