आइतबार, जेठ २, २०७८

गोरखाका कृष्णप्रसादको हत्या आरोपित सबैलाई अदालतले दियो सफाइ

ज्योतिन्यूज २०७७ चैत २९ गते १७:५९
गंगामाया अधिकारी

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका सबै प्रतिवादीलाई उच्च अदालत पाटन, हेटौंडा इजलासले सफाइ दिएको छ ।

आज न्यायाधीशद्वय चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले जिल्ला अदालत चितवनको फैसला सदर गरेको हो ।

२०६१ जेठ २४ मा चितवन रत्ननगरमा रहेका हजुरबुवा र हजुर आमालाई भेट्न आएका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो। तत्कालीन विद्रोही माओवादीले हत्याको जिम्मा लिएको थियो।

तर, कृष्णका दाजु र बाबुले हत्याविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। जाहेरीविरुद्ध कुनै कारबाही भएको थिएन।

राज्य प्रशासनसँग केही जोर नलागेपछि अधिकारीका पिता नन्दप्रसाद अधिकारीले अनसन शुरु गरेका थिए। अनशन शुरु गरेपछि २०७० साउनबाट चितवन प्रहरीले अनुसन्धान बढाएको थियो। प्रहरीले अनुसन्धान पूरा गरेपनि मुद्दा चल्नेरनचल्ने विषयमा विवाद भयो। उक्त प्ररकण महान्यायाधिवक्ता कार्यालयसम्म आइपुग्यो।

त्यसैबीच २०७० चैत ३० गते १३ जनालाई विपक्षी बनाउँदै मुद्दा दायर भयो। अदालतले पहिलो सुनुवायमै सबै आरोपितलाई धरौटीमा रिहा गरेलगत्तै उक्त प्रकरण पुनः विवादमा पर्‍यो। उक्त प्रकरण सर्वोच्चसम्म आइपुग्यो।

सर्वोच्चले एक अभियुक्तलाई थुनामा राखी मुद्दाको सुनुवाइ अघि बढाउने आदेश गरेपछि रोकिएको मुद्दा पुनः शुरु भयो। तर, सुनुवाइ सुस्त गतिमा भएको र पति नन्दप्रसाद अधिकारीको पनि अनशनकै क्रममा मृत्यु भएपछि गंगामाया अधिकारीले वीर अस्पतालमै अनशन शुरु गरिन्। उनको अनशन लम्बिँदै गएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तमाङले उनको अनशन तोडाएका थिए।

त्यसको केही दिनपछि एक अभियुक्त छबिलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसर्मपण गरेका थिए। सर्वोच्चले थुनामा राख्न भनु आदेश गरेका उनी सरकारसमक्ष आत्मसर्मपण गरेका थिए। उनी भेटिएपछि जिल्ला अदालतमा उक्त मुद्दाको सुनुवाइ शुरु भयो। जिल्लाले किटानी जाहेरी दिने कृष्ण अधिकारीका दाजु नुरप्रसाद अधिकारीलाई उपस्थित हुन आदेश गर्‍यो।

वीर अस्पतालमा अनशन बसेकी गंगामायासँग पूर्वकानुनमन्त्री तमाङले मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई साक्षी राख्दै २०७५ असार २९ गते सहमति गरेका थिए। उक्त सहमतिमा मुख्य अभियुक्त रुद्र आचार्यलाई नेपाल झिकाई मुद्दाको किनारा लगाउन मद्दत गर्ने उल्लेख थियो।

पौडेलको आत्मसर्मपण लगत्तै कानुन मन्त्रालयले परराष्ट्र मन्त्रालय अन्तर्गत बेलायत रहेका फरार अभियुक्त रुद्र आचार्यलाई नेपाल झिकाउन पत्र लेख्यो। रेट कर्नर नोटिस जारी भएका उनलाई नेपाल फर्काइदिन सहयोग मात्रै सरकारले साउन १५ गते अदालतको आदेशसहित पत्र लेखेको थियो। तर, उनी नेपाल आइ नपुग्दै जिल्ला अदालतले फैसला सुनाएको थियो। जिल्ला अदालतले उनको हकमा बाँकी राख्दै फैसला गरेको हो।

सरकारले २०७२ असोजमा गरेको पाँच बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपछि गंगामाया अधिकारीले अनशन तोडेकी थिइन्। १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई आजीवन काराबासको सजाय माग गर्दै उनी गत जेठ १५ गतेदेखि अनशन बसेकी थिइन्। अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते मृत्यु भएको थियो। युद्धकालमा छोरा र अनशनकै क्रममा पति गुमाएपछि गंगामायाले माग पूरा नभएसम्म अनशन नतोड्ने अडान राखेकी थिइन्।

चितवनको जयमंगलास्थित् हजुरबुबाको घर आएका बेला २०६१ जेठ २४ गते रत्ननगरको बकुल्लर चोकमा कृष्णप्रसादको गोली हानी हत्या गरिएको थियो। मृतकका दाजु नुरप्रसादले दिएको किटानी जाहेरी अनुसार १३ जना प्रतिवादी रहेको यस मुद्दामा हालसम्म ११ जना अदालतमा पेस भएका थिए। तीमध्ये सीता अधिकारी र जानुका पौडेल साधारण तारेखमा र अन्य धरौटीमा रिहा भएका थिए। बाँकीलाई पनि अदालतले सफाई दिएको हो ।

प्रतिक्रिया