आइतबार, जेठ २, २०७८

भैसीगोठलार्ई विस्थापन गर्दै सुविधा सम्पन्न होटेल

रासस २०७७ चैत २९ गते १८:०२
फाइल फोटो

गण्डकी । झण्डै डेढ दशकअघि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका युवा सुदिप गौतमले मर्दी हाइक्याम्पमा होटेल सञ्चालन गर्न लाग्दा उहाँका छिमेकी तथा आफन्तले अनौठो मान्थे । कतिपयले त त्यतिबेला गौतमलाई उपहासको पात्र समेत बनाए । समयको गतिसँगै मर्दी हिमाल पदयात्राले विश्वव्यापी चासो र चर्चा कमाएसँगै यतिखेर धेरै युवा मर्दी पदयात्रा मार्गमा सुदिपकै पदचाप पछ्याउँदै होटेल व्यवसाय सञ्चालन गर्न थालेका छन् ।

सन् २००७ मा गौतमले मर्दी हाइक्याम्पमा होटेल ट्रेकर्स प्याराडाइज सञ्चालन गर्नुपूर्व हाइक्याम्पमा मात्र नभई मर्दी पदयात्रा मार्गका फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, डुँडखर्कलगायतका कुनै पनि स्थानमा होटेल थिएनन् ।

पदयात्रा मार्गमा डेढ दशकअघिसम्म केबल भैँसीगोठ मात्रै रहेको ७१ वर्षीय टेकबहादुर गुरुङले अनुभव सुनाउनुभयो । आफू ३५ वर्षको हुँदा पदयात्रा मार्गको कोकारमा रहेको भैँसीगोठमा आएका एक जना विदेशी पदयात्रीले चियाको किट्ली बसाल्न भनेको कुरा स्मरण गर्दै गुरुङले त्यस समयमा पदयात्रामा आउने पर्यटक केबल क्याम्पिङका भरमा रात कटाउने गरेको बताउनुभयो ।

आफूले चिया पसल शुरु गर्नुका साथै भैँंसीगोठलाई पर्यटक बस्ने ठाउँका रुपमा विकास गरेको उहाँले बताउनुभयो । “मर्दी पदमार्गमा यतिका पर्यटक आउलान् भन्ने मैले सोचेकै थिइन”, उहाँले भन्नुभयो, “मर्दी पदयात्रामा पछिल्ला वर्षमा बढेको आकर्षणले हामीलाई निकै खुशी बनाएको छ ।” तत्कालीन समयमा क्याम्पिङमा बसेका पर्यटकका लागि पिउने पानीको निकै दुःख रहेको बताउँदै उहाँले झण्डै डेढ घण्टा पानी बोकेर ल्याउनुपर्ने विवशता रहेको सुनाउनुभयो ।

आफूले भैँसीगोठ राखेको कोकारको नाम जङ्गलका बीचमा रहेका कारण पछिल्ला वर्षमा ‘फरेष्ट क्याम्प’का रुपमा चिनिएको उहाँले बताउनुभयो । कोकार गुरुङ भाषाको शब्द हो । यसको अर्थ सुकेको रगत भन्ने हुन्छ । भैँंसीगोठलाई विस्थापन गर्दै होटेल बनेको यस ठाउँमा परापूर्वकालमा राजारजौटाबीच लडाइँ भएको र त्यहाँ रगत सुकेको किंबदन्तीका आधारमा यसको नाम कोकार भएको हुन सक्ने अनुमान गरिन्छ । यही फरेष्ट क्याम्पमा अहिले १२ होटेल सञ्चालनमा आइसकेका छन् ।

गुरुङ जस्तै अर्का ७१ वर्षीय होमबहादुर क्षेत्री पनि भैंँसीगोठको ठाउँ होटेलले लिएको देख्दा दङ्ग हुनुहुन्छ । हिमालयन इन्काउन्टर नामक टे«किङ कम्पनीबाट आएका पदयात्री क्याम्पिङ गर्दै धेरै वर्षसम्म यस क्षेत्रमा पदयात्रा गरेको उहाँले बताउनुभयो । बढ्दो पर्यटकको आगमनसँगै पानीको चरम दुःख भएपछि २०६७÷६८ तिर पानीका लागि एक्यापलाई निवेदन दिएको बताउँदै उहाँले पाइप पाइएसँगै पदयात्रा क्षेत्रको अनुरोधबाट पानी ल्याएको जानकारी दिनुभयो ।

भैँंसी गोठलाई विस्तारै पर्यटकको आगमनलाई लक्षित गरी सुविधा सम्पन्न बनाउँदै जाँदा पछिल्ला वर्षको भैँंसीगोठ पूर्ण रुपमा विस्थापन भई होटेल सञ्चालनमा आएको अर्का स्थानीयवासी भक्तबहादुर गुरुङले बताउनुभयो । खानेपानी, बिजुलीलगायतका समस्यालाई समाधान गर्न सकेमा यहाँ आउने पर्यटकलाई राम्रै सेवा सुविधा प्रवाह गर्नै सकिने उहाँको भनाइ छ ।
पोखरा—बागलुङ राजमार्गअन्तर्गतको काँडे हुँदै मर्दी हिमालको पदयात्रा गर्ने पर्यटकले पहिलो रात फरेस्ट क्याम्पमा बिताउने गरेको उहाँले बताउनुभयो । फरेष्ट क्याम्प दुई हजार ६०० मिटरको उचाइमा छ । यहाँ रात कटाएर भोलिपल्ट लगभग छ÷सात घण्टाको पदयात्रापछि पदयात्री तीन हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्प पुग्दछन् ।

हाइक्याम्पबाट बिहान झिसमिसेमा उठेर पदयात्री चार हजार २०० मिटरको भ्यू प्वाइन्ट पुग्छन् । भ्यू प्वाइन्ट पुग्ने पदयात्रीले सकेसम्म मर्दी हिमाल आधार शिविरसम्म पुग्नुपर्ने टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका उपाध्यक्ष एवं होटेल एशिया, लेकसाइडका सञ्चालक धर्मराज पन्थीले बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्ध्न एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन (टेसा) पोखराद्वारा चैतको १ गतेदेखि गरिएको चार दिने मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक कार्यक्रमका सन्दर्भमा उक्त क्षेत्रमा पुग्ने अवसर मिलेको बताउँदै उहाँले एक पटक पदयात्रा गर्नै पर्ने गन्तव्यका रुपमा आफूले पाएको अनुभव सुनाउनुभयो । “पछिल्ला वर्षमा मर्दी हिमाल पदयात्रा जसरी आकर्षक गन्तव्य बनेको छ, त्यसरी नै यहाँ सुविधा सम्पन्न होटेल बन्ने क्रम पनि बढेको रहेछ”, उहाँले भन्नुभयो, “बढ्दो पर्यटकको आगमनसँगै यस क्षेको वातावरणीय संरक्षणका साथै सरसफाइमा ध्यान दिनुपर्ने देखिन्छ ।”

कोरोनाले थलिएको पर्यटनलाई पुनरोत्थान गर्नका लागि यस्ता आकर्षक पदमार्गको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्डसहित पर्यटनसम्बद्ध सबै सङ्घसंस्था हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । गुराँस फुल्ने जङ्गलैजङ्गल चराचुरुङ्गीको चिरबिराहट सुन्दै र देख्दै हिँड्न सकिने यस मार्गमा सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्नसक्छन् ।

यहाँबाट माछापुच्छ्रे मर्दी, अन्नपूर्ण, गङ्गापूर्णजस्ता हिमाललाई एक साथ अवलोकन गर्न सकिने पर्यटन व्यवसायी एवं फेवा ट्रेकिङ शप लेकसाइडका सञ्चालक महेन्द्र केसीले जानकारी दिनुभयो । हिड्न सक्ने व्यक्ति एक दिनमा नै मर्दी हिमालको काखमा पुग्न सक्ने भएकाले यसको पदयात्रा पर्यटन एवम् पर्वतीय पर्यटनमा विशेष महत्व रहेको उहाँले बताउनुभयो ।

कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अष्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्दछ । यी सबै स्थानमा बस्न र खानका लागि होटेल सञ्चालनमा आइसकेका छन् । समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करीब दुई घण्टामा चार हजार २०० मिटर उपचाइको ‘भ्यु प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा चार हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गको हाइक्याम्पमा १३ वटा, फोरेष्ट क्याम्पमा १२ वटा, लो क्याम्पमा नौवटा, बादल डाँडामा छवटा र डुँडखर्कमा तीनवटा होटेल सञ्चालनमा आइसकेका छन् ।

विसं १९९० देखि २००७ सम्म पदयात्रा मार्गका विभिन्न स्थानमा भैंँसीपालन गर्दै आएका व्यवसायीले क्याम्पिङ गरी बस्ने पर्यटकलाई सेवा प्रवाह गरिरहेकामा त्यस यता भने भने ठूलै सङ्ख्यामा खुलेका होटेलले पर्यटकको चाहनाअनुसार सेवा प्रवाह गरिरहेको होटेल ट्रेकर्स प्याराडाइजका सञ्चालक सुदिप गौतमले जानकारी दिनुभयो ।

मर्दी पदयात्रा आउने जो कोहीले खान बस्नको कुनै असुविधा भोग्नु नपर्ने बताउँदै मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका संस्थापक अध्यक्ष समेत रहनुभएका गौतमले पदमार्ग क्षेत्रको व्यवस्थापन, सरसफाइलगायतका विषयलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो ।

मर्दी पदयात्रामा जाने पर्यटकका लागि स्तरीय होटेल सञ्चालनमा आएसँगै पदयात्राको रुचि राख्ने जो कोहीले उक्त क्षेत्रको पदयात्रा सहज रुपमा गर्न सक्ने टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले बताउनुभयो । पदयात्रामा प्रयोग गरिने सामग्रीको गुणस्तरियताका लागि आफूहरू सधंँै सचेत तथा प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले यसको प्रभावकारिताका लागि २०५० सालदेखि टेसा क्रियाशील भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया