आइतबार, जेठ २, २०७८

कम्फर्टेबल सरकार बनाउन हिंडेका प्रचण्ड आफैं ‘अनकम्फर्टेबल’ !

सर्प मरिसक्यो, तर पुच्छर चल्दा तर्सिए प्रचण्ड !

विशेष संवाददाता २०७७ चैत २९ गते २०:५०

काठमाडौं । गत १४ फागुनमा एक निजी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए – ‘हामी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि योभन्दा कम्फर्टेबल हुँदैन । चीनका लागि पनि यो कम्फर्टेबल नै हुन्छ । राम्रो सम्भावना अहिले छ । यो राम्रो सम्भावनामा जानुपर्‍यो भनेर मैले भनेको छु ।’

सर्वोच्च अदालतले पुस ५ मा गरिएको प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याएको अवस्था थियो त्यतिबेला । प्रचण्ड उत्साही थिए, ओलीले गरेको सिफारिसमा राष्ट्रपतिले लाहाछाप लगाएपछि भएको संसद विघटन सर्वोच्चले उल्ट्याएकोमा । उनले सञ्चारमाध्यममा कांग्रेस, जसपा र माओवादी केन्द्रको गठबन्धन उपयुक्त हुने कुरा दोहोर्याइरहे । ‘कम्फर्टेबल’ काण्ड चल्दा उनी तत्कालीन नेकपाका अध्यक्ष नै थिए ।

उनले भारतका लागि कम्फर्टेबल हुने सरकार बनाउने कुरा गरेपछि राष्ट्रिय राजनीतिमा प्रचण्डको आलोचना भयो । उनका विरुद्ध सामाजिक सञ्जालमासमेत आवाज उठ्न थाल्यो । प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले नयाँ पार्टीको नाम नेकपा अर्थात ‘नेपाल कम्फर्टेबल पार्टी’ राख्नसमेत सुझाए ।

तर फागुन २३ पछि परिस्थिति १८० डिग्रीमा बदलियो । नेकपा नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले नेकपाको एकता खण्डित गरिदियो अर्थात पूर्व माओवादी केन्द्र र पूर्व एमाले ब्युँताइदियो ।

त्यसयता एमालेका माधवकुमार नेपाल र उनीपक्षीय नेतासँगै स्वयम् प्रचण्ड पनि अनकम्फर्टेबल बनेका छन् । यतिबेला प्रचण्डको हाउभाउले उनी आवेग, उत्तेजना र निराशाका पर्याय बनेको स्पष्ट देखिन्छ ।

एक साताअघि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गर्यो । कपिलवस्तुमा रहेका प्रचण्ड निकै उत्साहित देखिएका थिए । उनको उत्साह त्यतिबेला निराशामा परिणत भयो, जतिबेला सभापति शेरबहादुर देउवाले सार्वजनिक खपतका लागि मात्र उक्त निर्णय गराएको थाहा पाए ।

‘प्रधानमन्त्री खाइदिनुस् भनेर ढोकैमा जाँदा पनि नहुने,’ माओवादी केन्द्रका एक नेताले ज्योतिन्यूजसँग भने, ‘कांग्रेस यतिबेला प्रतिगमनको मतियार बनिरहेको छ । ओलीसँग कांग्रेसको सेटिङ रहेछ भन्ने प्रमाणित भएको छ ।‘

यतिबेला ओलीले आफूमाथि अप्ठेरो परेको बेलामा चाल्ने धेरै अस्त्रहरू तयार पारेर बसेका छन् । ओलीनिकट कै नेताहरूले संसदमा माओवादी केन्द्रसँग सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौतीसमेत दिने गरेका छन् । तर प्रचण्डमा पुनः संसद विघटन हुने हो कि भन्ने चिन्ता र भय देखिन्छ ।

नेपालको राजनीतिमा यतिबेला सबैभन्दा बढी कसैले गुमाएको छ भने त्यो पात्रको नाम हो केपी शर्मा ओली । संसद विघटनलाई अदालतले बदर गरिदियो । त्यही अदालतले सबैभन्दा ठूलो पार्टीको अध्यक्ष रहेका ओलीलाई एमालेको अध्यक्षमा सिमीत गरिदियो । एमालेमा अहिले विभाजनको रेखा मडारिएको छ ।

नेता नेपाल र उनी पक्षीय नेताहरूले पार्टी विभाजनको अभ्यास गरिरहेका छन् । लगभग आधाआधी जिल्लामा समानान्तर कमिटी बनेको छ भने थप बन्ने क्रममा छ । नेता नेपालले ओलीले नै समानान्तर कमिटीको अभ्यास गरिरहेको आरोप लगाइरहेका छन् । ओली यतिबेला शक्तिशाली दुईतिहाइको प्रधानमन्त्रीबाट अल्पमतको प्रधानमन्त्रीमा झरेका छन् ।

तर ओलीले चाल्ने राजनीतिक कदम भने स्वाभाविक छैन । उनले कसैले नसोचेको कदम चाल्न सक्छन् र आफूहरूलाई झन् अप्ठेरोमा पार्न सक्छन् भन्ने भय प्रचण्डमा देखिएको छ । चौतर्फी हार्दा पनि ओली सबैभन्दा बढी कम्फर्टेबल देखिन्छन् भने प्रचण्ड सबैभन्दा बढी अनकम्फर्टेबल देखिएका छन् ।

सर्प मरिसक्यो, तर पुच्छर चल्दा तर्सिए प्रचण्ड !

एक प्रभावशाली राजनीतिक विश्लेषकले ज्योतिन्यूजसँग भने – ‘ओली नामको सर्प मरिसकेको छ । कहिलेकाहीं पुच्छर हल्लाउँदैमा प्रचण्डले यसरी ‘पाइन्टमै पिसाब’ फेर्नु नपर्ने हो । राजनीतिक रूपमा नेकपा छैन भने एमाले पनि कहीं नरहने अवस्था सिर्जना हुँदैछ । सबैभन्दा बढी कम्फर्टेबल प्रचण्ड हुनुपर्नेमा उनी सबैभन्दा बढी भय र त्रासमा बाँचिरहेका छन् ।‘

तर ओलीको स्वेच्छाचारिताका विरुद्धमा नेकपामा हुँदै विद्रोहको झण्डा उठाएका प्रचण्डलाई ‘ओलीले जतिबेला जे सुकै पनि गर्न सक्छन्’ भन्ने भयले गाँजेको छ ।

हुन त प्रचण्डसँग यतिबेला अन्य प्रतिपक्षी दलहरूको आडभरोसा छैन । शनिवारको एक कार्यक्रममा प्रचण्डले भनेका थिए – ‘अविश्वासको प्रस्ताव ल्याउन त हुन्थ्यो तर २५ प्रतिशत नै छैन । त्यसैले प्रतिगमनका विरुद्ध कांग्रेस र जसपासँग मिल्नु हाम्रो यतिबेलाको आवश्यकता हो ।‘

प्रचण्डले भनेजस्तो माओवादी केन्द्र, कांग्रेस र जसपासम्मिलित गठबन्धन गर्न गाह्रो हुँदै गइरहेको छ । जसपाका डा। बाबुराम भट्टराई र उपेन्द्र यादवबाहेकका नेताहरू ओलीसँगै ‘सती’ जान तयार देखिन्छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा जसरी पनि अर्ली इलेक्सनको पक्षमा छन् ।

आइतवार बसेको जसपाको पदाधिकारी बैठकमा देउवा प्रधानमन्त्री बन्नै नचाहेको विषयमा छलफल भएको थियो । ठाकुरले ब्रिफिङ गर्दै बैठकलाई भनेका थिए – ‘कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न चाहनुभएको छैन । यो अवस्थामा या त हामीले नेतृत्व दाबी गर्नुपर्यो, होइन भने माग पूरा हुने शर्तमा ओलीलाई नै समर्थन दिनुपर्यो । यो भन्दा अर्को कुनै विकल्प छ भने साथीहरूले भन्नुहोस् ।‘

तत्काल चुनावमा जाने हो भने आफूले बहुमत ल्याउन सक्ने देउवाको बुझाइ छ । ‘दुई वर्षपछि हुने निर्वाचनमा कम्युनिस्टहरू फेरि कुनै न कुनै हिसाबले मिलेर आउने खतरा छँदैछ,’ देउवानिकट एक नेताले ज्योतिन्यूजसँग भने, ‘यही मङ्सिरमा चुनाव गराउन सभापति देउवा लागिरहनु भएको छ । त्यो पनि ओलीकै नेतृत्वमा ।‘

आफ्नो नेतृत्वमा सरकार बन्दा चुनावी एजेण्डा कमजोर हुने र त्यसको फाइदा कम्युनिस्टहरूले उठाउने विषयमा देउवा सजग छन् । माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन दबाब दिने, त्यसपछि ओलीले विश्वासको मत लिंदा विपक्षमा मत हाल्ने । नयाँ सरकार बनाउन पहल पनि नगर्ने र पुनः संवैधानिक रूपमै संसद विघटन गर्ने अवस्थामा पुगेपछि नयाँ चुनावको तयारी गर्ने, उनीनिकट नेताहरूले आफ्ना कार्यकर्तालाई यस्तै कुरा ब्रिफिङ गर्दै आइरहेका छन् ।

प्रतिक्रिया