आइतबार, जेठ २, २०७८

लुम्बिनीमा सरकार फेरिदै, माओवादीका कुलप्रसाद केसी नयाँ मुख्यमन्त्री !

ज्योतिन्यूज २०७८ वैशाख ३ गते १६:०८

काठमाडौँ। गण्डकी प्रदेशमा सरकार बनाउने अभियानमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले अन्य साना दलहरुसँग मिलेर लुम्बिनीमा पनि आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गण्डकी र लुम्बिनी प्रदेश सरकार बाँडफाँड गर्न गोप्य सहमति भएअनुसार लुम्बिनीमा पनि सरकार परिवर्तनको तयारी चलेको हो ।

मंगलवार साँझ महाराजगंजस्थित एक व्यापारी प्रमोद राणाको घरमा दुवै नेताको गोप्य बैठक भएको थियो । छलफलमा कांग्रेसका तर्फबाट थप दुई र माओवादी केन्द्रका तर्फबाट थप २ जना पनि सहभागी थिए ।

‘केन्द्रको सरकार निर्माणलाई केही दिन थाती राखेर दुई प्रदेशमा सरकार फेर्ने कुराकानी भएको छ,’ छलफलमा सहभागी एक कांग्रेस नेताले भने, ‘गण्डकीमा कांग्रेस नेतृत्व र लुम्बिनीमा माओवादी नेतृत्वको सरकार बनाउने विषयमा दुवै पार्टीका शीर्ष नेताहरूबीच करीब करीब सहमति भएको हो ।’

गण्डकीमा कांग्रेसका पोखरेललाई मुख्यमन्त्री बनाउने तयारीपछि प्रचण्ड र देउवाले लुम्बिनीमा कूलप्रसाद केसी ‘सोनाम’लाई मुख्यमन्त्री बनाउने गरी छलफल थालेका छन् । लुम्बिनी प्रदेशको आन्तरिक मामिलामन्त्रीसमेत रहेका सोनाम माओवादी केन्द्रका संसदीय दलका नेतासमेत हुन् ।

लुम्बिनीमा ८७ सांसदमध्ये माओवादी केन्द्रका दिनेश पन्थी र दधिराम न्यौपानेलाई केही दिनअघि निलम्बन गरिएको छ । ओलीतिर लागेपछि माओवादी केन्द्रले उनीहरूलाई कारवाही गरेको हो ।

बाँकीमध्ये एक सभामुखसहित माओवादीका १८, कांग्रेसका १९, जसपाका ६ र जनमोर्चाका १ जना सांसद प्रदेश सभामा छन् भने एमालेबाट ४१ जना सांसद रहेका छन् । नयाँ सरकार गठनका लागि ४६ जनाको मत आवश्यक पर्छ । एमालेबाहेकको गठबन्धन बन्दा शंकर पोखरेल अल्पमतमा पर्छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रका ६० जना प्रदेश सभा सदस्यको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका थिए। पछि एमाले र माओवादी केन्द्रको एकताबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि उनले आफ्नै पार्टीको बहुमतप्राप्त सरकार चलाउने अनुकुलता प्राप्त गरेका थिए। एमाले, माओवादी अलग-अलग भएपछि पोखरेललाई मुख्यमन्त्रीको पद जोगाउन मुस्किल भएको छ। मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन कांग्रेस, माओवादी, जसपा र जनमोर्चा तयारी अवस्थामा बसेका छन्।

अविश्वास प्रस्ताव ल्याएर मुख्यमन्त्रीबाट पोखरेललाई हटाएर केसीलाई बनाउने गरी गृहकार्य चलिरहेको छ । केही समयमै पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने बताइएको छ ।

प्रतिक्रिया