शुक्रबार, वैशाख ३१, २०७८

को हुन एमालेको ह्वीप नमान्ने ४ जना सांसद ?

ज्योतिन्यूज २०७८ वैशाख ३ गते १७:३७

काठमाडौं । नेकपा एमालेका सांसदले पार्टीको ह्विप नै उल्लंघन गरी साथ दिएपछि कर्णाली प्रदेशमा माओवादी केन्द्रको सरकार जोगिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेपछि सरकार जोगिएको हो ।

कांग्रेसले समर्थन गरेपछि शाहीले विश्वासको मत प्राप्त गर्नुभयो। माओवादीको १२ मत थियो भने काँग्रेसको ६ मत थियो । सरकार जोगिन कम्तीमा २० जना सांसदको मत आवश्यक थियो । यहाँ एमालेका सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै शाहीको पक्षमा मतदान गरेपछि सरकार जोगिएको हो ।

विश्वासको मत को पक्षमा २२ र विपक्षमा १५ जना सांसदले मत दिएका छन् । शुक्रबारको बैठकमा ३७ जना सांसद उपस्थित थिए । जस अनुसार एमालेका ४ जनाले फ्लोर क्रस गरेका हुन् ।

फ्लोर क्रस गरेर राजनीतिको मोड नै परिवर्तन गरिदिने एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा रहेका छन् ।

काँग्रेस र माओवादीसँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का भएको भनिएको थियो । तर एमालेका सांसदहरुले आश्चर्यजनक तरिकाले मत दिएसँगै उहाँको सरकार जोगिएको छ ।

एक महिना अघि एमालेले उहाँलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारलाई कुनै दलले दिएको समर्थन फिर्ता दिएको खण्डमा कम्तीमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही अनुसार आज उहाँले मत लिनुभएको हो ।

प्रतिक्रिया