आइतबार, जेठ २, २०७८

‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसदलाई कारबाहीको सिफारिस

ज्योतिन्यूज २०७८ वैशाख ३ गते २१:००

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिन सहयोग पुर्‍याएका चार जना सांसदलाई कारबाहीका लागि नेकपा एमालेको संसदीय दलले सिफारिस गरेको छ।

कर्णालीका चार जना सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई कारबाहीका लागि सिफारिस गरिएको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बताउनुभयो ।

उहाँहरूलाई दलीय व्यवस्था र ऐन अनुसार गर्न मिल्ने कारबाही गरिएको छ उहाँको भनाइ छ ।

कर्णालीमा आज (शुक्रबार) भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत माग्न गरेको प्रस्तावमा यी चार सांसदले पक्षमा मतदान गरी ‘फ्लोर क्रस’ गरेका थिए।

सांसद ज्वाला यसअघि आर्थिक मामिला तथा योजना मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए।

एमाले संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि उनीहरूले शाही नेतृत्वको सरकारबाट राजीनामा दिएका थिए।

कर्णालीका मुख्यमन्त्रीको पक्षमा २२ मत परेको थियो। जसमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जनाले मतदान गरेको थिए।

कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपा भने तटस्थ बसेको थियो।

मतदानका क्रममा सांसद देवी ओलीले आफ्नो मत सच्याउनुभएको थियो। विश्वासको मतको पक्षमा पहिले मतदान गरेकी ओलीले पछि विपक्षमा मतदान गर्नुभएको हो ।

प्रतिक्रिया