बिहीबार, वैशाख ३०, २०७८

ओलीको अहंकार धरहरामाथि पुगिसकेको नेपालको टिप्पणी

ज्योतिन्यूज २०७८ वैशाख १० गते १३:३४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार धरहरामाथि पुगिसकेको टिप्पणी गर्नुभएको छ । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाले ओलीको अंहकार र दम्भका कारण लोकतन्त्र नै धरापमा परेको टिप्पणी गर्नुभयो ।

‘ओलीको दम्भ र अहंकार धरहरामाथि पुगिसकेको छ । उनको अहंकारले पार्टीमा संकट सिर्जना भएको छ’, उहाँले भन्नुभयो, ‘लोकतन्त्र र कम्युनिस्ट आन्दोलन ओलीकै कारण धरापमा परेको हो ।’

ओलीको दृष्टिकोणमा नै खोट रहेकाले उहाँले मनपरी गरेको नेता नेपालको आरोप छ । ‘उहाँमा व्यक्तिवाद, गुटवाद र निरकुंश प्रवृत्ति हाबी छ’, प्रधानमन्त्री ओलीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो ।

नेता नेपालले अध्यक्ष ओलीलाई पटक–पटक ०७५ जेठ ३ गतेको निर्णयमा फर्कन आग्रहसमेत गरेको तर नमानेको आरोप लगाउनुभयो ।
‘पार्टीभित्र ओली अल्पमतमा परेपछि सडकबाट मान्छे उठाएर सदस्य बनाइरहेका छन्’, उहाँले भन्नुभयो, ‘ओलीलाई सुधार्न हामीले धेरै प्रयास गरेका छौँ । तर, उनको अहंकारका कारण सुध्रिएलाजस्तो देखिन्न ।’

ओलीप्रति आत्रामक रुपमा प्रस्तु भएका नेता नेपालले ‘बालुवाटारको बालुवामा तेल नरहेको’समेत टिप्पणी गर्नुभयो ।

ओली पार्टी (एमाले)लाई बचाउने पक्षमा नरहेको आफूले पाएको नेता नेपालको भनाइ छ । साथै, उहाँले ओलीले आफूलाई कारबाही गर्न नसक्ने भन्दै चुनौतीसमेत दिनुभयो ।

‘पार्टी परित्याग गरेको, अर्को पार्टीमा प्रवेश गरेको र संसदीय दलले जारी गरेको ह्विप नमानेको खण्डमा मात्र कारबाही गर्न सकिन्छ’, उहाँले थप्नुभयो, ‘ओलीले गरेको कारबाही पार्टीको विधानविपरीत छ ।’

अध्यक्ष ओली र नेपालबीच पार्टी विभाजन रोक्नलाई बार्गेनिङ चलिरहेको छ । यद्यपि, बिहीबार काठमाडौंमा भएको छलफलमा पनि कुनै निष्कर्ष निश्किएको थिए । ओलीको हठका कारण वार्ता नमिलेको नेता नेपालको भनाइ छ ।

प्रतिक्रिया