शुक्रबार, वैशाख ३१, २०७८

प्रकाश सपुतको ‘मेरो पनि हैन र ? यो देश (भिडियोसहित)

काठमाडौँ । लोक तथा दोहोरी गायक प्रकाश सपुतको ‘मेरो पनि हैन र ? यो देश ’ सार्वजनिक भएको छ । सपुतले गलबन्दी, बोलमाया, परदेशी, बदला बरिलैलगायत धेरै गीत गाएर मानिसको मन जितेका मात्रै छैनन्, मानिसका दुःख, वेदना र भोगाइसँग आफ्नो सिर्जना जोडेर धेरैका आँखाबाट आँसुसमेत झारेका छन् ।

कलालाई नै जीवन ठानेर अघि बढेका सपुतले गायन, लेखन, निर्देशन, अभिनय सबै विधा सम्हाल्दै आएका छन् ।

पहिला बोल मायामार्फत सारा नेपालीलाई रुहाएका सपुतले गलबन्दीमार्फत हसाउँदै गाउँघरको याद दिलाए । अहिलेसम्म आइपुग्दा उनले मुटुमा धक्का दिने सिर्जना गरेका छन् । गीतमा प्रकाशकै स्वर, शब्द र संगीत रहेको छ । भिडियो कन्सेप्ट र निर्देशन उनकै हो ।

कलाकारको चर्चाको विषयलाई उनले जीवनलाई नै तीन भाग लगाएर हेरेका रहेछन् । असफलता र सङ्घर्ष पहिलो चरण भयो भने दोस्रो चरणमा सफलता र उत्साह । अन्ततः मान्छे फेरि पनि निराशामै फर्किन्छ । उनले अहिलेको उत्साहको समय सदुपयोग गर्दै मनका लागि मनबाट काम गरेको बताउँछन् । उनले गीत दर्शकलाई जिम्मा लगाउँदै आफू पोखिएर हलुङ्गो भएको बताएका छन् । उनको मेहनतलाई दर्शकले सम्मान गरेका छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै भिडियोले युट्युब ट्रेन्डिङमा स्थान बनाएको छ ।

ठूलो समूह लिएर उनले गीत र भिडियो तयार गरेका छन् । श्यामस्वेत रसाइलीको संगीत संयोजन रहेको गीतमा प्रकाशलाई स्वरमा देवेन्द्र बब्लु, सुनिल विक, विशाल घिमिरे लगायतले साथ दिएका छन् । कोरियोग्राफी प्रदीप हमाल र शेर साउदले सम्हालेका छन् । भिडियोमा राम भजन कामत, भोलाराज सापकोटा, कुलदीप अधिकारी, रविन तामाङ, सरिता लामिछाने, ऋषि धमला, राजु लामा, अमर न्यौपाने, देवेन्द्र बब्लुलगायतको भूमिका रहेको छ । नवराज उप्रेती र रवीन्द्र न्यौपानेले छायाङ्कनको पाटो सम्हालेका छन् भने सम्पादन प्रविन भट्टले गरेका छन् ।

भिडियोमा अमर न्यौपानेको पुस्तक ‘करोडौँ कस्तुरी’ लाई आलङ्कारिक रूपमा समेटिएको छ । पछिल्लो समय रियालिटी शोमा हुने रोना धोनालाई समेत उनले भिडियोमा देखाएका छन् ।

प्रतिक्रिया