शुक्रबार, वैशाख ३१, २०७८

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी !

ज्योतिन्यूज २०७८ वैशाख १२ गते १३:३०

काठमाडौँ । प्रतिपक्ष दलहरु मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र–बाबुराम पक्ष मिलेर अविश्वास प्रस्ताव दर्ताको तयारी भएको स्रोतले बतायो ।

सम्भवतः एक दुईदिनभित्रै ओलीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिने स्रोतको भनाई छ ।

यता आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने सुइँको पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको महाधिवेशन आयोजक समितिको आकश्मिक बैठक बोलाउनुभएको छ ।

केहीवेर अघि शुरू भएको बैठकले माधव पक्षका ७ जना सांसदहरुलाई निष्काशन गर्ने तयारी भएको छ । कर्णाली प्रदेशमा माधव पक्षका सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाइदिएको थियो । ‘कर्णाली काण्ड’ संघीय संसदमा पनि हुने देखिएको कारण ओलीले नेपाल पक्षका सांसदलाई कारवाही गर्ने तयारी गर्न लागेको बुझिएको छ ।

माधवकुमार नेपालसहित केन्द्र तथा प्रदेशका गरी उनी पक्षका ३२ सांसदलाई मागिएको स्पष्टीकरण सम्बन्धमा छलफल पनि गरिनेछ ।

स्रोतका अनुसार स्पष्टीकरण सोधिएका २७ जनामध्ये केहीलाई कारवाही गरिने सम्भावना छ । त्यो संख्या घटीमा सात र बढीमा १० सम्म हुन सक्ने बैठकमा सहभागी एक नेताले बताए ।

माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि ओली तातिएको बताइएको छ ।

एमालेको विधानले दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार दिएको छ ।

यसअघि शुक्रबार मात्र बालुवाटारमै एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बसेको थियो।

जसले माधव नेपाल पक्षलाई हटाएर अध्यक्ष ओलीले पार्टीको नयाँ स्थायी कमिटी गठन गर्नुभएको थियो भने कर्णाली प्रदेशमा पार्टीको ह्विपविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार जना प्रदेश सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

यद्यपि स्पष्टिकरण दिएका केही सांसदहरुको जवाफ तुलनात्मक रुपमा सफ्ट रहेको बालुवाटारले निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया