शुक्रबार, असार ११, २०७८

ओलीलाई शेरचनको जवाफः म तपाईँजस्तो ढोँगी होइन

ज्योतिन्यूज २०७८ वैशाख २१ गते ११:२७

काठमाडौँ । मन्त्रिपरिषदको सोमबारको बैठकबाट सिफारिस भई राष्ट्रपतिबाट पदमुक्त गरिनुभएका गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफू प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो ढोँगी नभएको बताउनुभएको छ ।

बिहान आयोजित पत्रकार सम्मेलनमा ओलीको नाम नलिइ शेरचनले आफू ‘भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोँगी’ नभएको बताउनुभएको हो ।

‘न त अर्बौँ कमिशन र भ्रष्टाचारमा डुबेको छु । बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डीजीलाई पदबाट बर्खास्त गरेको ज्युँदो उदाहरण छ मसँग,’ शेरचनले भन्नुभयो, ‘भ्रष्टाचार र कमिशनहरूको खेलमा दङदङी बनाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोँगी व्यक्ति पनि होइन ।’

राजनीतिक दलहरू जनताको जीउधन रक्षा गर्न लाग्नुपर्नेमा सत्तालिप्साको खेलमा देशलाई डुबाइएको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

शेरचनले आफूलाई पदमुक्त गरेकोमा सन्तुष्ट भएको प्रतिक्रिया दिदै आफू अधिकार नभएको पदबाट मुक्त हुन पाउँदा जेलबाट बाहिर निस्किएजस्तै आनन्द मिलेको बताउनुभयो ।

‘पदमुक्त भएकोमा अत्यन्त खुसी छु । राष्ट्रपतिलाई मुरी–मुरी धन्यवाद ।’, उहाँले भन्नुुभयो, ‘पहिला ओली जी र पुनः प्रचण्ड जीमार्फत् ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो यो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारको पद हो यो । अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनु भएकोमा पुनः धन्यवाद दिन चाहन्छु राष्ट्रपतिज्यूलाई ।’

उहाँले आफू काममा रहँदा अधिकार नभएका र असंवैधानिक कामहरु केही पनि नभएको उहाँले स्पष्टोक्ति समेत दिनुभयो ।

प्रदेश प्रमुख भएर १८ महिना २ दिनसम्म काम गरेको जानकारी दिँदै शेरचनले यो अवधिमा सबैको सहयोग र सम्मान पाएको बताउनुभयो ।

सरकारले हिजो बसेको मन्त्रिपरिषद बैठकबाट शेरचनसहित सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसलाई सदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादवलाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो ।

पदमुक्त भएका दुवैजना माओवादी नेताहरु हुनुहुन्छ ।

प्रतिक्रिया