शुक्रबार, वैशाख ३१, २०७८

बुटवलमा अक्सिजन बैंक स्थापना

ज्योतिन्यूज २०७८ वैशाख २१ गते १५:५३

बुटवल । कोभिड १९ को दोस्रो लहरले जनजीवन कष्टकर बनाइरहेको अवस्थामा बुटवल उपमहानगरपालिकाले अक्सिजन बैंक स्थापना गरेको छ ।

उपमहानगरपालिकामा होम आइसोलेसन, होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पुर्‍याउने गरी नि:शुल्क अक्सिजन बैंकसेवा शुभारम्भ गरिएको हो ।

प्रमुख शिवराज सुवेदीले एक संक्षिप्त समारोहबीच उक्त सेवाको शुभारम्भ गर्नुभयो । उक्त अवसरमा उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनाल, स्वास्थ्य शाखाका उमा थापा, कार्यदलका सदस्यहरु एजाज आलम, सन्दीप कसौधन, बाबुराम बोहोरा, सुरज भट्टराईलगायतले प्रभावकारी सेवा प्रवाहको प्रतिबद्धता जनाउनुभयो ।

घरघरमै रहेका संक्रमितलाई अक्सिजनको आवश्यकता देखिएपछि स्वास्थ्यकर्मीसहितको टोलीले सिलिन्डर पुर्‍याउने गरी नयाँ व्यवस्था गरिएको हो। पहिलो चरणमा एक सय थान सिलिन्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ।

होम आइसोलेसनमा रहेकाको परीक्षण, नियमित स्वास्थ्य जानकारी लिएर आइसोलेसनमा रहेका संक्रमितलाई तत्कालै अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीको भनाइ छ। उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत् स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादकसमक्ष छलफल गर्न, अक्सिजन सिलिन्डर संकलन गर्न, रिफिल गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो।

दोस्रो लहरमा संक्रमित भएका धेरै विरामीलाई अक्सिजन आवश्यक पर्न थालेसँगै नेपालमा यसको अभाव हुन नदिन विभिन्न तयारीका कामहरु थालिएको छ ।

प्रतिक्रिया