शुक्रबार, वैशाख ३१, २०७८

पार्टी कब्जा गर्ने षड्यन्त्रविरुद्ध फ्लोर क्रस गरिएको होः प्रकाश ज्वाला

ज्योतिन्यूज २०७८ वैशाख २१ गते १६:००

सुर्खेत । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर कारबाहीमा पर्नुभएका एमालेका पूर्व सांसद प्रकाश ज्वालाले आफूहरूले फ्लोर क्रस नभएर पार्टीको निर्णयलाई कार्यान्वयन गरेको बताउनुभएको छ ।

वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनुभएका ज्वालाले १७ दिनपछि एक अपील जारी गर्दै केपी शर्मा ओली समूहको गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति चिर्न फ्लोर क्रस गरिएको दाबी गर्नुभएको हो ।

एमालेको पोलिटब्युरो सदस्य समेत रहनुभएका ज्वालाले पार्टी नीतिअनुसार नै फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको स्पष्ट पार्नुभयो ।

‘कर्णाली प्रदेश सरकारका विषयमा नेकपा एमाले केन्द्रीय र प्रदेश कमिटीले कुनै आधिकारिक निर्णय गरेको छैन, ‘वर्तमान सरकारको निरन्तरताकै लागि मतदान गरेको हो ।’ उहाँले भन्नुभयो ।

यो प्राविधिक र व्यक्तिगत विषय नभइ राजनीतिक निर्णय भएको दाबी समेत गर्नुभयो । ‘केन्द्रदेखि स्थानीय तहसम्म समस्या बढाउँदै गुटगत रूपमा पार्टी कब्जा गर्ने रणनीति देखिएपछि त्यसलाई चिर्न यस्तो कदम चाल्नुपरेको हो । अन्याय सहन र आत्मसमर्पण गर्न कम्युनिस्ट पार्टी रोजेको होइन’, उहाँले भन्नुभयो ।

‘अन्याय सहन र आत्मसमर्पण गर्न कम्युनिष्ट पार्टी रोजिएको होइन, सत्य र निष्ठाका लागि विद्रोह गर्न जतिबेला पनि तयार छु,’ ज्वालाले अपीलमा गर्नुभएको छ ।

पार्टीभित्रको गुटगत अत्याचारले सीमा नाघे पनि आफूहरुमाथि भइरहेको अत्याचारमा शीर्ष नेतृत्वले कुनै सुनुवाइ नगरेको ज्वालाको भनाइ छ ।

नेता ज्वालाले केही अराजक व्यक्तिहरुले आफूलाई आर्थिक प्रलोभनमा परेर फ्लोर क्रस गरेको भन्ने जस्ता भ्रामक आरोप लगाउने दुष्प्रयास भएको बताउनुभयो ।

प्रतिक्रिया