शुक्रबार, असार ११, २०७८

माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा

ज्योतिन्यूज २०७८ वैशाख ३० गते ११:१६

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएकाहरुको कारबाही फुकुवा गरेको छ ।

बालुवाटारमा बसेको आकस्मिक स्थायी कमिटि बैठकले नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसालमाथि गरिएको कारवाही फुकूवा गर्ने निर्णय गरेको हो ।

बिहान ९ बजेदेखि बालुवाटारमा जारी बैठकमा नेपाल–खनाल समूहको माग सम्बोधन गर्नेबारे छलफल भएको थियो ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीले गरेका सबै निर्णय खारेज गर्दै पार्टी एकता पूर्वको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नु पर्ने अडान नेपाल–खनाल समूहको छ ।

ती माग पूरा नभए विपक्षी गठबन्धनलाई सरकार बनाउन पुग्ने गरी सामूहिक राजीनामा दिने तयारी गरेको नेपाल–खनाल समूहलाई रोक्ने प्रयत्नमा ओली लाग्नुभएको हो ।

नेपाल पक्षका नेताहरुको राजीनामा रोक्ने प्रयास स्वरुपमा कारवाही फुकूवा गरिएको एक नेताले बताए ।

समानान्तर गतिविधि गर्दै आएको समूहका नेता माधवकुमार नेपालसहित रावल, पाण्डे र भूसाललाई एमालेले ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको थियो ।

त्यस्तै बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया