शुक्रबार, असार ११, २०७८

खिमलाल देवकोटाले भने– मेरो उम्मेदवारीमा फिर्ता लिने कुरा कल्पना पनि गर्दिन

ज्योतिन्यूज २०७८ वैशाख ३१ गते ११:३२

काठमाडौँ । जेठ ६ गते हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको लागि विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएका डा. खिमलाल देवकोटाले आफूले कुनैपनि हालतमा उम्मेद्वारी फिर्ता नलिने स्पष्ट पार्नुभएको छ ।

शुक्रवार एक विज्ञप्ती जारी गर्दे उहाँले विकसित राजनीतिक घटनाक्रमका कारण उम्मेदवारीबारे पुनर्विचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय रहेको स्पष्ट पार्नुभएको हो ।

डा. देवकोटाले भन्नुभएको छ, ‘मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय हो।’

वैशाख ३० गते भएको राजनीतिक घटनाक्रमपछि एमाले विवाद समाधानको चरणमा प्रवेश गरेका बेला आफ्नो उम्मेदवारी अब के हुन्छ भन्नेमा चासो रहनु स्वभाविक नै रहेको देवकोटाले बताउनुभएको छ ।

नेकपा एमालेका नेता कार्यकर्ता लगायत सबै राजनीतिक दलहरुले आफूप्रति पूर्ण विश्वास र सदभाव राखेको अवस्थामा उम्मेदवारीप्रति प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

‘सबै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिन्ह कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु’, देवकोटाले भन्नुभएको छ ।

२०७८ वैशाख ३० गते भएको राजनीतिक घटनाक्रम पछि मेरा आदरणीय अभिभावक, शुभचिन्तक एवं मतदाताज्यूहरुले मेरो उम्मेदवारी प्रति जिज्ञासा राख्नु स्वभाविक नै हो । मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण लगायतका लागि राजनीतिक दलहरु विभाजित हुनु हुँदैन । राजनीतिक पार्टी नीति, विधी र पद्धतीमा चल्नु पर्दछ, । यसमा विवाद हुन सक्दैन । तर, मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय हो ।
निष्ठा र ईमान्दारिताको राजनीति प्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वाश र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ ।
नेकपा एमालेका नेता कार्यकर्ता लगायत सवै राजनीतिक दलहरुले म प्रति पूर्ण विश्वास र सदभाव राख्नु भएको अवस्थामा मेरो उम्मेदवारी प्रति म प्रतिवद्ध छु । तर्सथ सवै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिन्ह कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु ।
हार्दिक कृतज्ञता सहित ।
डा. खिमलाल देवकोटा
राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार ।
वागमती प्रदेश ।

प्रतिक्रिया