बुधबार, साउन २०, २०७८

पूर्ण र आंशिक गरी देशभरका ७४ जिल्लामा निषेधाज्ञा लागू

ज्योतिन्यूज २०७८ जेठ ३ गते १०:३६

काठमाडौं । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि देशभरका ७४ जिल्लामा निषेधाज्ञा लागू भएको छ । गृह मन्त्रालयका अनुसार मनाङ, खोटाङ र तेह्रथुमबाहेक अरु जिल्लामा निषेधाज्ञा छ । ७० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा छ ।

मुस्ताङ, सप्तरी, धनकुटा र ताप्लेजुङमा आंशिक तथा अरु जिल्लामा पूर्ण निषेधाज्ञा लागू भएको हो । काभ्रेमा दोस्रोपटक म्याद थप गरी निषेधाज्ञा लम्बिएको छ ।

गएराति १२ बजेदेखि आगामी जेठ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।
यसअघि दुई राजमार्ग र मुख्य सडक खण्डको दायाँ बाँया र बजार क्षेत्रमा मात्रै लागू हुने गरी निषेधाज्ञा गरिएकोमा आजदेखि जिल्लाभरि नै लागू भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास गर्दै छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा आउँदो १३ गतेसम्म निषेधाज्ञा छ । गएको बैशाख ७ गतेदेखि शुरु भएको निषेधाज्ञामा सङ्क्रमण बढेसँगै जिल्ला जिल्लामा लागू हुँदै गएको हो ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार आवश्यकता अनुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइएको छ । पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाण्डौ उपत्यका तथा तराईमा पाँच सय सक्रिय सङ्क्रमित भए जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार छ ।

निषेधाज्ञाका कारण सङ्क्रमण दर क्रमशः घट्दो क्रममा रहेको र निको हुने दर वृद्धि भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया