बुधबार, साउन २०, २०७८

नेपालमा चिनिया खोप ल्याइदै, खरिद प्रक्रिया अघि बढ्यो

ज्योतिन्यूज २०७८ जेठ ३ गते ११:३६

काठमाडौं । नेपालमा चिनले उत्पादन गरेको भेरोसेल खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।

आगामी जूनको पहिलो सातासम्म नेपाल ल्याउने गरी सरकारले प्रक्रिया शुरू गरेको हो । जसका लागि स्वास्थ्य मन्त्रालय हुँदै परराष्ट्र मार्फत चिनियाँ पक्षलाई पत्राचार समेत भईसकेको छ ।

बेइजिङस्थित नेपाली दूतावासले पहिलो चरणमा २० लाख खोप खरीदका लागि चिनियाँ पक्षसँग समन्वय गरिरहेको छ । चिनियाँ पक्षले जूनको पहिलो साताभित्र १० लाख खोप उपलब्ध गराउने र सकेसम्म बाँकी १० लाख पनि दिने आश्वासन दिएको छ ।

नेपालले चीनसँग प्रतिडोज कति रुपैयाँमा खोप खरीद गर्न लागेको हो भन्ने विषयमा केही पनि बताइएको छैन । अन्य मुलुकले चीनसँग प्रति डोज कतिमा खोप खरीद गरिरहेका छन् भन्ने सम्बन्धमा कुनै पनि सार्वजनिक जानकारी छैन । नेपाल सरकार र चीन सरकार बीचमा मूल्यको विषय टुंगो लागेपछि नेपाल सरकारले खोप उत्पादक कम्पनीसँग सम्झौता गरेर खोप ल्याउनेछ ।
मे ७ मा विश्व स्वास्थ्य संगठनले चीनको सिनोफार्मको खोप आपत्कालीन प्रयोगको लागि अनुमति दिएपछि विश्वभर चीनको खोप माग संसारभरी बढ्न थालेको छ । त्यससँगै कोभ्याक्सलाई चिनियाँ खोप खरीद गर्ने बाटो खुलेको छ । चीनले तेस्रो चरणको क्लिनिकल परीक्षणको केही डाटा विश्व स्वास्थ्य संगठनमा नबुझाएका कारण चिनियाँ खोपका सम्बन्धमा केही आशंका थियो । तर यसबीचमा पनि धेरै मुलुकमा चिनियाँ खोप प्रभावकारी देखियो । मे ९ सम्म चीनमा ३०८.२ मिलियन डोज खोप लगाइएको छ ।

विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोगको लागि अनुमति दिइसकेपछि बाहिर रहेका कम्पनीहरूको सहकार्यमा वार्षिक रूपमा ५ विलियन खोप उत्पादन गर्ने लक्ष्य चीनको सिनोफार्मले घोषणा गरेको छ । सिनोफार्मले अहिलेसम्म ४०० मिलियन खोप उत्पादन गरिसकेको छ ।

चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सका अनुसार विश्वका १०० भन्दा बढी मुलुक र संस्थाहरूले चिनियाँ खोप उत्पादन गर्ने इच्छा व्यक्त गरेका छन् । अहिलेसम्म ८० भन्दा बढी मुलुकले आपत्कालीन प्रयोग वा बजारका लागि भेरोसिललाई अनुमति दिएका छन् । सिनोफार्मले तीन खालको खोप तयार पारेको छ ।

ग्लोबल टाइम्सका अनुसार चीनले आफूले उत्पादन गरेको खोपमध्ये ५० प्रतिशत अन्य मुलुकमा निर्यात गरेको छ भने बाँकी ५० प्रतिशत खोप आफ्ना नागरिकलाई लगाएको छ । सो पत्रिकाका अनुसार चीनले अहिलेसम्म २४० मिलियन खोप निर्यात गरेको छ र चीन सबैभन्दा बढी खोप उत्पादन गर्ने मुलुक हो । चीनले कोभ्याक्सका लागि १० मिलियन खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

चीनले अन्य मुलुकलाई प्रतिडोज कतिमा बेचिरहेको छ भन्ने तथ्यांक छैन । तर, चीनका विभिन्न प्रान्तीय सरकारले भने खोप उत्पादक कम्पनीसँग प्रतिडोज ३० डलरमा किनिरहेका छन् । खोप उत्पादन गरिरहेका कम्पनीहरूले खोपको मूल्य खुलाएका छैनन् । चिनियाँ खोप प्रति डोज कतिमा कुराकानी भईरहेको छ सरकारी अधिकारीहरुले केही पनि बताएका छैनन । विविसीका अनुसार कतिसय शहरमा त्यहाँका नागरिकले ५० डलरसम्म तिरेर खोप लगाएका छन । दक्षिण एसियाली मुलुक इन्डोनेसियाले चीनसँग प्रतिडोज २० डलरमा खरिदको लागि कुराकानी गरिरहेको छ ।

प्रतिक्रिया