बुधबार, साउन २०, २०७८

एमाले विवाद समाधान गर्न गठित वार्ता टोलीको बैठक अनिश्चित

ज्योतिन्यूज २०७८ जेठ ३ गते १२:१९

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्ने उद्धेश्यसहित गठित वार्ताटोलीको आज बस्ने भनिएको बैठक अनिश्चित भएको छ ।

पार्टीको विद्यमान समस्या समाधानको लागि आधार तय गर्न बनेको वार्ता टोलीको पहिलो बैठक आज बस्ने कार्यसूची थियो । तर माधव नेपाल पक्षका वार्ता टोलीका संयोजक भीम रावलको आँखामा समस्या आएपछि अनिश्चित भएको हो ।

अध्यक्ष केपी शर्मा अ‍ोली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार भएको सहमति अनुसार दुवै पक्षबाट पाँच/पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो । वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

ओली पक्षका टोली नेता सुवास नेम्वाङ र माधव पक्षका नेता भीम रावलबीच सहमति गरेर सदस्यहरुलाई खबर गर्ने भनिएकोमा रावलको आँखा पाकेको हुनाले अस्पताल जार्नुपरेका कारण समय अनिश्चित भएको हो ।

वार्ता टोली सदस्य सुरेन्द्र पाण्डेले अहिलेसम्म वार्ता कहाँ र कतिबेला हुने भन्ने खबर नआएको बताउनुभयो। वार्ता टोलीलाई चाँडो सहमति मस्यौदा बनाउन दवाव छ ।

वार्ता टोलीमा ओलीको पक्षबाट नेम्वाङसहित बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव नेपालको पक्षबाट रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।

प्रतिक्रिया