बुधबार, साउन २०, २०७८

एमाले कार्यदलको पहिलो बैठक आज बस्ने निश्चित

ज्योतिन्यूज २०७८ जेठ ४ गते १२:१४

काठमाडौँ । नेकपा एमालेको विवाद समाधान गर्ने उद्धेश्यसहित गठित वार्ताटोलीको बैठक मंगलवार बस्ने भएको छ ।

पार्टीको विद्यमान समस्या समाधानको लागि आधार तय गर्न बनेको वार्ता टोलीको पहिलो बैठक सोमबार बस्ने कार्यसूची थियो । तर माधव नेपाल पक्षका वार्ता टोलीका संयोजक भीम रावलको आँखामा समस्या आएपछि हिजो बैठक बस्न सकेको थिएन् ।

आज दिउँसो तीन बजे बैठक बस्ने कार्यसूची तय भएको एक नेताले जनाए । यसअघि दुवै तर्फका नेताहरुले बैठक बस्नेबारे कुनै निर्णय नभएको बताएका थिए ।

अध्यक्ष केपी शर्मा अ‍ोली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार भएको सहमति अनुसार दुवै पक्षबाट पाँचरपाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो । वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

ओली पक्षका टोली नेता सुवास नेम्वाङ र माधव पक्षका नेता भीम रावलबीच सहमति गरेर सदस्यहरुलाई खबर गर्ने भनिएकोमा रावलको आँखा पाकेको हुनाले सोमबार अस्पताल जानुपरेको कारण बैठक बस्न सकेको थिएन ।

वार्ता टोलीमा ओलीको पक्षबाट नेम्वाङसहित बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव नेपालको पक्षबाट रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।

प्रतिक्रिया