बुधबार, साउन २०, २०७८

जसपामा सरकारमा नजाने सहमति, आफैले नेतृत्व गर्न पाए नयाँ सरकार बनाउने

ज्योतिन्यूज २०७८ जेठ ४ गते १४:३०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच अल्पमतको वर्तमान सरकारलाई साथ नदिने सहमति भएको छ ।

प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने सहमति गर्दै दुई नेताले आफ्नै नेतृत्वमा सरकार बनाउन पाए नयाँ सरकारको गृहकार्य गर्न सकिने बताएका छन् ।

पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क वितर्क एवम् अड्कलबाजी भइरहेको बेला दुई नेताबीच भएको छलफलबाट पार्टी तत्काल सरकारमा सहभागी नहुने सहमति बनेको हो । दुई अध्यक्षद्वारा जारी विज्ञप्तिमा पार्टी प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ । 

तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ ।जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् ।

‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क-वितर्क एवम् अइकलबाजीहरू भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’

समायोजन हुन नसकेका पार्टी संगठन, भातृ संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई यथाशीघ्र सम्पन्न गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । ‘पार्टीमा उत्पन्न भएका समस्याहरूलाई आफू संगठित रहेको पार्टी संगठनभित्र छलफल गरी पार्टी विधान अन्तरगत रहेर नै समाधान गर्नु पर्दछ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।पार्टीभित्र गुटबन्दी गर्ने, गुट-उपगुट खडा गर्ने र पार्टी नेताहरूका विरुद्ध भ्रम फैलाउने काम पनि बन्द गर्नुपर्नेमा उनीहरूको जोड छ ।

प्रतिक्रिया