बुधबार, साउन २०, २०७८

बादललाई राष्ट्रिय सभा निर्वाचनमा सहयोग गर्नेबारे नेपालले दिएनन् वचन

ज्योतिन्यूज २०७८ जेठ ४ गते १६:१८

काठमाडौं । गृहमन्त्री समेत रहनुभएका एमाने नेता राम बहादुर थापा बादलले निर्वाचनमा सहयोग गर्न आग्रह गर्न बरिष्ठ नेता माधव कुमार नेपाललाई आग्रह गर्नुभएको छ ।

मंगलवार दिउँसो उहाँकै निवास कोटेश्वरमा पुगेर नेता नेपालसँग भेट गर्दै गृहमन्त्री बादलले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।

जेठ ६ गते बिहीबार हुने बागमती प्रदेश राष्ट्रिय सभाको उपनिर्वाचनबारे छलफल गर्न पुग्नुभएका गृहमन्त्री थापालाई सहयोग गर्नेबारे नेता नेपालले कुनै वचन भने नदिएको स्रोतले बतायो । ​

पार्टी विवाद समाधानका लागि संस्थापन पक्षसँग संवाद शुरू हुनुअघि नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षीसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवारका रुपमा अगाडि सारेको थियो ।

पछिल्लो समय संस्थापन पक्षसँग वार्तामा रहेको नेपाल पक्ष राष्ट्रियसभाको उपनिर्वाचनमा कसको पक्षमा उभिन्ने भने विषय प्रष्ट पारेको छैन । तर आजको भेटमा नेपालले वचन नदिएसँगै नेपालपक्षले बादललाई भोट नहाल्ने निश्चितजस्तै भएको स्रोतको भनाई छ ।

एमाले एक भएको खण्डमा बादलले जित्ने निश्चित छ । एमालेका उम्मेदवार बादलका पक्षमा मतदान गर्न महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख, उपप्रमुखलाई ह्वीप जारी गर्नुभएको छ ।

उक्त निर्वाचनमा विपक्षी गठबन्धनले नेपाल समूहका डा. खिमलाल देवकोटालाई उम्मेद्वार बनाएको छ । थापाको चुनाव चिन्ह सूर्य रहेको छ भने देवकोटाको कलम रहेको छ ।

प्रतिक्रिया