बुधबार, साउन २०, २०७८

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अक्सिजनको अभाव

ज्योतिन्यूज २०७८ जेठ ४ गते १७:५९

कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले कोभिड–१९ का बिरामी सहित अन्य बिरामीका उपचार नियमित रुपमा भइरहेको बताउनुभएको छ । पछिल्लो समयमा नयाँ भेरियन्ट सहितको सङ्क्रमणले अक्सिजन लिने वृद्धि हुँदा समस्या भइरहेका अवस्थामा पनि अन्य जटिल खालका बिरामीको पनि नियमित उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । “हामीलाई दैनिक ३०० अक्सिजन सिलिण्डरको आवश्यकता पर्छ । शुरुका दिनमा २०० सिलिण्डर थियो,” उहाँले भन्नुभयो, “पछिल्लो समयमा अक्सिजनको हाहाकार बन्दै गयो ।”

नेपालगञ्जबाट भरेर ल्याएका सिलिण्डर त्यहाँका बिरामीका आफन्तले खोस्दा अक्सिजन अभाव बढेको र श्वासप्रश्वासका बिरामी थपिँदै उपचारमा आइलागेको समस्याले निकै सोच मग्न बनाएको उहाँले बताउनुभयो । अक्सिजन नै सकिएपछि श्वास प्रश्वासका बिरामीहरुको मृत्युको कारुणिक दृश्य र आफन्तहरुको पीडा देख्न नपरोस् भनेर अस्पताल सेवादिन सक्ने अवस्थामा नरहेको भन्ने सूचना गर्नुुपरेको उहाँको भनाइ थियो ।उहाँले भन्नुभयो, “बिरामीको हित र सरकार सहित अन्य सरोकारवाला निकायलाई पनि झक झक्याउन सूचना गरेको हुँ । यसले नागरिकमा केही असर पारेपनि सरोकारवालाको गम्भीर ध्यानाकर्षणले अक्सिजनको जोहो भएर कोभिड बिरामीको उपचारमा सहयोग पुगेको छ ।” प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पतालाई कोभिड विशेष अस्पताल भनिएपनि प्रतिष्ठान टाढा रहेको, चौरजहारीमा जनशक्ति र क्षमता कम भएकोले सुर्खेत मै बिरामीको चाप बढेको उहाँको भनाइ थियो ।

प्रदेश अस्पताल बाल रोग विभागका प्रमुख डा.नवराज केसीले गम्भीर खालका बिरामीमात्र आओस् भन्ने आशयले अस्पताल प्रशासनले सूचना गरेको बताउनुभयो । कोरोनाबाट बालबालिकाहरुमा सामान्यप्रभाव देखिएपनि ठूलो असर नपरेको उहाँले बताउनुभयो । गाउँमा स्वास्थ्यकर्मी, स्वयंसेवकआमा समूह र अन्य सरोकारवालाहरुले पनि यो अभियानमा खट्न सके ८० प्रतिशत बिरामी घट्ने उहाँको भनाइ थियो ।

प्रदेश अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा.के.एन.पौडेलले अवधिमा धुम्रपान तथा मध्यपान गर्ने युवाहरुको मृत्युदर बढेको जानकारी दिनुभयो । सङ्क्रमणको बीचमा पनि कोरोनाका बिरामीहरुकै सि.एस.एपेन्डिसाइटिस्लगायतको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार केहीदिनमा सङ्क्रममितका बिरामी घट्दै जानेछन् ।
प्रदेश अस्पतालका अनुसार कोरानाको बिरामीलाई ‘हाइ फ्लो’को अक्सिजन चाहिने भएकोले कन्सेटे«टर र अक्सिजन पाइप लाईनबाट करिब ७० भन्दा बढी बिरामीलाई अक्सिजनदिइएको छ । अक्सिजन प्लान्टले सोचे अनुसारकोअक्सिजनप्रवाहनसकेकोले त्यसको क्षमता बढाउनेतर्फ प्रयास थालिएको छ । कोभिड–१९ व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले रु.२५ करोड सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया