बुधबार, साउन २०, २०७८

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई सघाउने नेपालको प्रतिवद्धता

ज्योतिन्यूज २०७८ जेठ ४ गते १८:४१

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई सघाउनुहुने भएको छ ।

बागमती प्रदेशमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका बादललाई सघाउने प्रतिबद्धता जनाउनुभएको हो ।

मंगलबार दिउँसो वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमा पुगेर थापाले सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

थापाको आग्रहलाई जवाफमा नेपालले पूर्ण सहयोग गर्ने वचन दिएको थापाको सचिवालयले जनाएको छ ।

‘पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनको विषयमा केन्द्रित थियो,’ भेटवार्तापछि गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले जारी गरेको प्रेस नोटमा भन्नुभएको छ, ‘भेटमा नेता नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो । भेट सकारात्मक रहेको उहाँको भनाइ छ ।’

पार्टी विवाद समाधानका लागि संस्थापन पक्षसँग संवाद शुरू हुनुअघि नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षीसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवारका रुपमा अगाडि सारेको थियो ।

पछिल्लो समय संस्थापन पक्षसँग वार्तामा रहेको नेपाल पक्ष राष्ट्रियसभाको उपनिर्वाचनमा कसको पक्षमा उभिने भने विषय प्रष्ट पारेको छैन ।

एमाले एक भएको खण्डमा बादलले जित्ने निश्चित छ । एमालेका उम्मेदवार बादलका पक्षमा मतदान गर्न महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख, उपप्रमुखलाई ह्वीप जारी गरिसक्नुभएको छ ।

प्रतिक्रिया