बुधबार, साउन २०, २०७८

गण्डकी प्रदेशः मन्त्रिपरिषद विस्तारको तयारीमा मुख्यमन्त्री, को हुँदैछन् नियुक्त ?

ज्योतिन्यूज २०७८ जेठ ५ गते १०:३२

पोखरा । राजीनामापछि पनि पुनर्नियुक्त हुनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ ।

वैशाख २२ मा कोरोना संक्रमण पुष्टि हुनुभएका मुख्यमन्त्री गुरुङको पछिल्लो कोरोना परीक्षण नतिजा अझै आइसकेको छैन । नतिजा आएसँगै मन्त्रिपरिषद विस्तार गर्ने उहाँको योजना छ ।

मन्त्रिपरिषद् विस्तार हुन नसक्दा बजेट, नीति तथा कार्यक्रम लगायत संवैधानिक दायित्वहरु प्रभाव पर्दै गएकोले नयाँ मन्त्रीहरु थप्ने तयारी भएको बताइएको छ ।

उहाँले मन्त्रीहरु थप्ने विषयमा केन्द्रित रहेर सोमबार पूर्वमन्त्रीद्वय र पार्टी सचेतकसँग छलफल समेत गर्नुभएको थियो ।

‘आज ३ जनासम्म मन्त्री बन्न सक्ने र बाँकी विश्वासको मत लिएपछि नियुक्त गर्ने तयारी छ,’ मुख्यमन्त्री गुरुङको सचिवालय स्रोतले भन्यो ।

नयाँ मन्त्रिमण्डल विस्तार गर्दा भौतिक विकास मन्त्रालयमा रामशरण बस्नेत र अर्थमन्त्रालय किरण गुरुङनै दोहोरिने जनाइएको छ ।

नीति तथा कार्यक्रम, बजेट योजनाहरु ल्याउँदा क्याबिनेटमा कम्तिमा २ मन्त्री हुनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था बमोजिम मुख्यमन्त्रीले अहिले २ मन्त्रालयको मात्रै विस्तार गर्ने र पूरानै दुई मन्त्रीलाई नियुक्त गरेर बजेट ल्याउने तयारी रहेको स्रोतले बतायो ।

स्रोत भन्छ, ‘३ वर्ष उहाँहरुले नै कार्यक्रम र बजेट ल्याउनु भयो । नयाँ मन्त्री नियुक्त गर्न समय पनि छैन । त्यसैले उहाँहरु नै दोहोरिने पक्का भएको हो ।’

यसअघि गण्डकी प्रदेशको मन्त्रिमण्डलमा सामाजिक विकास मन्त्रालय नरदेवी पुनमगर, पर्यटन विकास लम्साल, आर्थिक किरण गुरुङ र माओवादी केन्द्रले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएपछि कृषि मन्त्रालय मुख्यमन्त्री आफैंले र कानून मन्त्रालय रामशरण बस्नेतलाई जिम्मा दिनुभएको थियो ।

मुख्यमन्त्री निकट स्रोतकाअनुसार यस पटकको मन्त्रिमण्डलमा किरण गुरुङ, रामशरण बस्नेतसहित दीपक मनाङे पनि दोहोर्‍याउने पक्षमा हुनुहुन्छ । ‘संसदीय अभ्यासमा एक भोटको पनि महत्व हुन्छ । त्यसका लागि पनि माननीय राजीव गुरुङज्यूलाई दोहोर्‍याउने पक्षमा हुनुहुन्छ,’ स्रोत भन्छ । बाँकी मन्त्रालयमा भने नयाँ अनुहार देखिने तर, अहिले नै एकिन भइनसकेको उनले जानकारी दिए ।

होम आइसोलेसनबाटै मुख्यमन्त्री पदबाट राजीनामा दिएका गुरुङले बैशाख २९ मा पुनः मुख्यमन्त्री नियुक्त भएर सपथ ग्रहण गर्नुभएको थियो ।

२७ गते संसदमा आफूमाथि पेश अविश्वासको प्रस्तावमा मतदान हुने पक्का भएपछि २६ गते नै राजीनामा दिनुभएका मुख्यमन्त्री गुरूङले १ महिनाभित्र विश्वासको मत लिनु पर्ने छ । बाँकी मन्त्रिपरिषद विश्वासको मत लिएपछि विस्तार हुने जनाइएको छ ।

प्रतिक्रिया