बुधबार, साउन २०, २०७८

एमाले कार्यदलको दोस्रो बैठक आज पनि बस्दै

ज्योतिन्यूज २०७८ जेठ ५ गते १०:४१

काठमाडौं । पार्टीको विवाद मिलाउन गठित सत्तारुढ दल नेकपा एमाले कार्यदलको दोस्रो बैठक आज (बुधबार)पनि बस्दै छ ।

बैठक आज साँझ ७ बजे बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिनुभयो । आज बस्ने बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधिजस्ता विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

बैठकमा भोलि हुने राष्ट्रिय सभाको उप–निर्वाचनका विषयमा पनि छलफल हुने जनाइएको छ । हिजो बसेको बैठकले एकताको सन्देश प्रवाह गर्ने गरी काम थालेको छ । कार्यदलको पहिलो बैठकले एकता कमजोर हुने र एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

सिंहदरबारमा बसेको बैठकले पार्टीमा देखिएका समस्या समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन सबैसँग सहयोगका लागि आग्रह गरेको थियो ।

नेता भीम रावल र प्रदीप ज्ञवालीले एकै स्वरमा एकताको सन्देश दिने गरी कार्यदलले काम थालेको र सहयोगको अपेक्षासहित अपील गरेको जनाएका थिए ।

बैठकले आफ्नो कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको थियो। आज त्यस विषयमा थप छलफल हुने नेता नेम्बाङले बताउनुभयो ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

नेता माधवकुमार नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छन् ।

कार्यदलले पार्टीलाई ०७५ साल जेठ २ गतेको संरचनामा फर्काउने उपाय र एमाले प्रवेश गरेका माओवादी नेताहरुको व्यवस्थापनलाई केन्द्रमा राखेर समाधान खोज्न कार्यदलले काम गर्नेछ ।

प्रतिक्रिया