बुधबार, साउन २०, २०७८

गण्डकीमा मन्त्रिपरिषद् विस्तारः ४ जना पुरानै मन्त्रीले लिए शपथ

ज्योतिन्यूज २०७८ जेठ ५ गते १५:५३

पोखरा । राजीनामापछि पनि पुनर्नियुक्त हुनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

वैशाख २२ मा कोरोना संक्रमण पुष्टि हुनुभएका मुख्यमन्त्री गुरुङको पछिल्लो कोरोना परीक्षण नतिजा अझै आइसकेको छैन । नतिजा आएसँगै मन्त्रिपरिषद विस्तार गर्ने उहाँको योजना थियो । । तर ढिलाई हुने देखिएपछि उहाँले आजै मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

आजको मन्त्रिमण्डल विस्तार अनुरूप पूरानै ४ मन्त्रीहरु नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सिता कुमारी पौडेलको निवासमा बुधबार दिउँसो साढे ३ बजे अर्थमन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुनले पद तथा गोपनियताको सपथ लिनुभएको हो ।

यसअघि माओवादी केन्द्रबाट मन्त्री बनेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएपछि प्रदेशमा २ वटा मन्त्रालय खाली थियो। चुमान कानुन मन्त्री तथा थापा कृषि मन्त्री हुनुहुन्थ्यो । उहाँहरुले चैत २५ गते राजीनामा दिनुभएको थियो ।

मन्त्रिपरिषद् विस्तार हुन नसक्दा बजेट, नीति तथा कार्यक्रम लगायत संवैधानिक दायित्वहरु प्रभाव पर्दै गएकोले नयाँ मन्त्रीहरु थपिएको हो ।

उहाँले मन्त्रीहरु थप्ने विषयमा केन्द्रित रहेर सोमबार पूर्वमन्त्रीद्वय र पार्टी सचेतकसँग छलफल समेत गर्नुभएको थियो ।

नीति तथा कार्यक्रम, बजेट योजनाहरु ल्याउँदा क्याबिनेटमा कम्तिमा २ मन्त्री हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

होम आइसोलेसनबाटै मुख्यमन्त्री पदबाट राजीनामा दिएका गुरुङले बैशाख २९ मा पुनः मुख्यमन्त्री नियुक्त भएर सपथ ग्रहण गर्नुभएको थियो ।

२७ गते संसदमा आफूमाथि पेश अविश्वासको प्रस्तावमा मतदान हुने पक्का भएपछि २६ गते नै राजीनामा दिनुभएका मुख्यमन्त्री गुरूङले १ महिनाभित्र विश्वासको मत लिनु पर्ने छ ।

खाली रहेको मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना कम रहेको छ। बुधबार मन्त्री नियुक्त हुँदा केही हेरफेरको सम्भावना भए पनि नयाँ मन्त्री भने बुधबारै नियुक्त नहुने जनाएको छ। अन्य दलसँग वार्ता गरेर सरकारमा ल्याउन २ वटा मन्त्रालय खाली नै राख्ने तयारी गरेको मुख्यमन्त्रीका सचिवालयले जनाएको छ ।

प्रतिक्रिया