बुधबार, साउन २०, २०७८

सर्वाेच्चमा अर्काे रिटः गैरसांसद ७ मन्त्रीको नियुक्ति खारेज गर्न माग

ज्योतिन्यूज २०७८ जेठ ५ गते १५:३९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्नुभएका सात गैरसांसदको मन्त्री नियुक्ति खारेज गर्न माग गर्दै सर्वाेच्चमा रिट दायर भएको छ ।

अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले यो विषयमा अन्तरिम आदेश माग नभएकाले हाललाई बोल्नुनपर्ने आदेश दिएको थियो ।

‘निवेदकले नेपालको संविधानको धारा ७८ को आधारमा मन्त्रीमा नियुक्ति भएका पदाधिकारीको हकमा अन्तरिम आदेशको माग गरेको नदेखिंदा सो सम्बन्धमा विचार गरी रहनु परेन,’ हिजोको आदेशमा भनिएको छ।

आजको रिटमा अन्तरिम आदेश माग गरेकाले उही विषय भए पनि अधिवक्ताहरू कपिलदेव ढकाल र विराज थापाको रिट सर्वोच्च प्रशासनले स्वीकार गरेको हो ।

सांसद नभए पनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी तथा सरसफाइ मन्त्री मणि थगापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा तामाङ रहनुभएको छ ।

थापा र तामाङ जेठ १० गते पदमुक्त हुनुहुँदै थियो । तर, त्यसअघि नै प्रधानमन्त्रीले विश्वासको मत पाउन नसक्दा स्वतः उहाँहरु पदमुक्त हुनुभएको थियो ।

त्यसपछि पनि पुनः ओलीकै नेतृत्वमा सरकार बनेपछि उहाँहरु पनि दोहोरिनुभएको हो । सोमबार प्रधानमन्त्रीले त्यो पर्दैन भनेको विवादास्पद शपथको विरुद्ध पनि रिट दर्ता भएको थियो । उक्त रिट माथि मंगलवार सुनुवाई भइसकेको छ ।

प्रतिक्रिया