बुधबार, साउन २०, २०७८

माधव पक्षीय नेताले गरे अर्को दल दर्ता, नाम नेकपा लोकतान्त्रिक, चुनाव चिन्ह के ?

ज्योतिन्यूज २०७८ जेठ १३ गते १५:४६

काठमाडौं । नेकपा एमालेबाट कारवाहीमा परेका बरिष्ठ नेता माधव कुमार नेपाल पक्ष निकट नेताहरुले नयाँ दल दर्ताको लागि निवेदन दिएका छन् ।

नेपाल समूहले नै नयाँ पार्टी गठनको तयारी गरिरहेका बेला उहाँनिकट कार्यकर्ताले निर्वाचन आयोगमा वैकल्पिक नामसहित दल दर्ताको निवेदन दिएका हुन् ।

नेपालनिकट नेता जीवन राईले नेकपा एकीकृत दर्ता गरेलगत्तै सोही समूहका कार्यकर्ताले निर्वाचन आयोगमा नेकपा लोकतान्त्रिक दर्ताका लागि निवेदन दिएका छन् ।

सुदीप रुवाली अध्यक्ष र सृष्टी बराल महासचिव रहेको उक्त पार्टी निषेधाज्ञाकै बीच दर्ताका लागि गए पनि आयोगले विधान नमिलेको भन्दै फिर्ता पठाएको थियो । दल दर्ताका लागि निवेदन आएको तर त्यो प्रक्रियामै रहेको आयोगले जनाएको छ । विधानमा संशोधन गरेर बिहीबार पुनः दर्ताका लागि निवेदन दिइएको रुवालीले बताउनुभयो । रुवाली माधव नेपालपक्षीय युवा संघका केन्द्रीय सदस्य हुनुहुन्छ। चितवनका रुवालीले सो समूहका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेललगायतसँगको सल्लाहपछि दल दर्ताका लागि निवेदन दिएको बताइएको छ ।

महासचिवमा प्रस्तावित बराल भने भर्खरै एलएलबीको पढाइ सक्नुभएकी नवोदित कानून व्यवसायी हुनुहुन्छ। उहाँ भने कुनै भ्रातृ संगठनमा संलग्न नरहेको बताइएको छ । प्रस्ताविक कार्य समितिको पदाधिकारीमा उपाध्यक्ष धिरेन्द्र शाही, सचिव बासुदेव भट्टराई, कोषाध्यक्ष निर्मला कोइराला छन् । त्यस्तै सदस्यहरुमा हिरासिंह धामी, विपिन वनेम, सुशीला कर्माचार्य, सम्झना कार्की, धनबहादुर लामा, अजयकुमार पटेल, पूजा राई, दिनेशमान श्रेष्ठ, दानबहादुर थापा मगर, सुमित्रा शाह, भागिरथी पन्त सेढाई, ईश्वरी बुढाथोकीलगायत छन् । माधव नेपाल समूहका मुख्य नेताहरूको सहमतिमै संस्थागत ढंगले विधान मस्यौदा गरेर दल दर्ताका लागि निवेदन गरिएको एक सदस्यले बताए । उनीहरूले पार्टीको चुनाव चिन्ह तारा माग गरेका छन् ।

प्रतिक्रिया