बुधबार, साउन २०, २०७८

गजलका दिप ‘प्रदीप’

गोमा परियार २०७८ जेठ १५ गते १८:४८

डाक्टर सा’ब म चामल बेचेर जचाँउन आएको हुँ,
बिन्ती मलाई खाली पेटमा खाने दबाइ दिनुहोस्!

गजलकार प्रदीप रोदनलाई चिनाउन यहि एक शेर काफी छ । प्रदीप पाण्डे भनेर कमैले चिन्छन् तर ‘प्रदीप रोदन’ यो नामले सबैले चिन्छन् ।

०७४/७५ सालतीरको एक साँझको समय जब हजुरआमाको दबाइ(औषधी) खाने समय भयो तव हजुरआमाले, ‘बाबु यो कतिबेला खाने औषधी हो?’ भनेर सोध्नुभयो, हजुरआमालाई औषधी खुवाएर कोठामा गएपछि फुरेको शेर थियो यो ।

पूरा गजल यस्तो छः

मलाई लगेर गाडिदिनुस् जिम्मा माटोलाई दिनुहोस्!
यो उनी बसेको छाती हो, आगो नलगाई दिनुहोस्!

मैले हजुर कै खुशीको लागि मर्ने निर्णय गरेको हुँ,
अन्तिममा अब एकपटक त मुस्कुराइ दिनुहोस्!

आमा मरेको खबर छोरालाई सुनाइदिए हुन्छ
छोरा मरेको खबर आमालाई नसुनाइ दिनुहोस्!

डाक्टर सा’ब म चामल बेचेर जचाँउन आएको हुँ,
बिन्ती मलाई खाली पेटमा खाने दबाइ दिनुहोस्!

भगवान तपाइले आजसम्म मलाई रुवाउनुभयो
आज मृत जन्मेको यो बच्चलाई पनि रुवाइ दिनुहोस्!

प्रदीपले जब महफिलमा गजल वाचन गर्छन् मक्ता, शेर र हरेक रदिफमा तालीका गडगडाहट मच्चिन्छन् र ‘वान्स मोर, वान्स मोर’का आवाज गुन्जिन्छन् । 

पेशाले शिक्षक प्रदीप पालुङटार नगरपालिका ९ पाण्डेवेशी गोरखाका हुन् । नेपाली साहित्यको गजल विधामा ‘प्रदीप रोदन’ लोकप्रिय नाम हो । उनका हरेक गजलमा केहि न केहि शन्देश र भाव मिसिएका हुन्छन् ।

प्रदीपले कुनै पनि गजल एकै लहरमा सकाउन पाउँदैनन् । हरेक गजलमा उनलाई ‘वान्स मोर’ले दोहोर्‍याउन, तेहेर्‍याउन पार्छन् ।
मोतिराम भट्टबाट सुरु भएको नेपाली गजल आज समुन्नत अवस्थामा पुगेको छ ।

नेपाली साहित्यको विधामा गजल’लाई अत्यधिक रुचाइएको विधाका रुपमा लिइन्छ । उनी भन्छन्, ‘अहिले गजलको क्रेज निकै बढेको छ, गजलमा बाढी नै आएको छ । छोटो, फुर्तिलो र जटिल पनि विधा गजल हो । थोरै शब्दमा धेरै अटाउने सक्ने विधा गजल हो ।’

गजलको उद्गम स्थल अरब भूमिलाई मानिन्छ । विशेषतः फारसी, उर्दू, हिन्दी हुँदै नेपालीमा आएको पाइन्छ । अरबी भाषामा ‘ग’ को अर्थ वाणी ‘ज’ को अर्थ नारी र ‘अल’को अर्थ को वा सँग हुन्छ ।

‘खान मन छैन भन्नुभन्दा उपयुक्त बहाना छैन ।

मलाई थाहा छ, कसौडीमा आमालाई पुग्ने खाना छैन।’

माथीको यो मक्ताले हरेकजसो घरको दैनिकी कथा बोलेको छ । गजलले भन्छ,‘भात पकाएको भाडो त रित्तिन्छ तर आमाको मन कहिल्यै रित्तिदैन ।’

‘फुटपातमा लुगा बेच्नेहरुलाई जरिवाना छ यहाँ
कलिला नानीको लुगा च्यात्नेलाई जरिवाना छैन,’

यो शेरले सरकारले गरीबलाई गर्ने व्यवहार र साना नानीको अस्मिता लुट्ने बलात्कारीलाई कुनै सजाय छैन भन्ने यथार्थ बोलेको छ । गजललाई पहिले प्रेमसँग जोडिएर हेरिने भए पनि अहिले भने यसको दायरा फराकिलो बन्दै गएको छ । प्रेम प्रसंगमा मात्रै नभई राष्ट्र, राष्ट्रियता र अधिकारका विषयमा पनि रचिन थालेको छ ।

पूरा गजल

‘अस्पतालसम्म घाइते मक्किएको स्टेचरमा आउँछ ।
यो कुन देश हो जहाँ सध्य मान्छे हेलिकप्टरमा आउँछ ।’

‘ठुलो रोग नलागोस नत्र रोग लागेकै दिन बेच्नुपर्छ ।
सरकार गरिवले भएको जग्गा जमिन बेच्नुपर्छ ।

कहाँ बिजुली निकाल्ने कुरा गर्नुभएको चुप लाग्नुस् ।
अझैं दुई चार वर्ष कमिसनमा लाल्टिन बेन्चुपर्छ।’

‘नजिक भएर पनि नजिक हुनुको भाव आउँदैन
म त्यहि बगर हुँ जहाँ नदीको बहाव आउँदैन ।

रातारात तिम्रो पार्टीको पर्चा कसरी आउँछ ?
जहाँ परिक्षा सकिने बेलासम्म किताव आउँदैछ ।’

०७० सालदेखि गजल लेख्न सुरु गरेका प्रदीपले औपचारीक रुपमा भने ०७३ सालदेखि गजल लेखन सुरु गरे । सानैदेखि साहित्यमा रुची राख्ने प्रदीपले सुरुवातमा स्थानीय रेडियोमा करिव ७ वर्ष ‘गीती कथा’ सुगम संगीत र व्यङग्यात्मक कार्यक्रम सञ्चालन गरे ।
०७० सालमा रेडियोको यात्रा टुङग्याएर प्रदीपले गजल लेखनमा लागेका हुन् ।

प्रदीपले १७ वर्षको उमेरमा आफैँले पढेको विद्यालय मदनेडाडा मावीमा अध्यापन गराए र अहिले धर्मोदय माध्यमिक विद्यालय पालुङटार गोरखामा विगत एक वर्षदेखि अध्यापन गराउँछन् ।

प्रदीप विद्यालयमा गणीत विषयका शिक्षक हुन् । उनले शिक्षण पेशा र गजल लेखनलाई आ–आफ्नो स्थानमा उत्तिकै महत्व दिएर अघि बढाएका छन् । उनी भन्छन्, गजल लेखनले मेरो पेशालाई ‘डिस्टर्व’गर्दैन, मेरा लागि यी दुवै प्रिय छन्, दुवैलाई उत्तिकै माया गर्छु ।’

उनले संख्यात्मक हिसावले करिब ८ वर्षको अवधिमा एक हजारको हाराहारीमा गजल लेखिसेका छन् । प्राय जसो साँझको समयमा बढी गजल लेख्ने उनलाई
डाक्टर सा’ब म चामल बेचेर जचाँउन आएको हुँ,
बिन्ती मलाई खाली पेटमा खाने दबाइ दिनुहोस्!

यो गजल अत्यधिक मन पर्छ । ‘लेखेका सबै उत्तिकै प्रिय छन् मेरो लागि तर एउटा रोज्नुपर्दा यहि रोज्छु’, उनले भने । गजलका शेरबाट श्रोतालाई मज्जैले रुवाउने प्रदीप स्वयम् आफूले पनि आशु झारेको बताउँछन् ।

‘आमा मरेको खबर छोरालाई सुनाइदिए हुन्छ
छोरा मरेको खबर आमालाई नसुनाइ दिनुहोस्!’

आमाको मृत्युपश्चात छोरोलाई दुख नहुने, छोरोलाई पत्थर बनाएको र आमालाई मात्रै बढी पिर दुःख हुने भावमा बनेको यो शेरले प्रदीप आफै पनि रोएका छन् । प्रदीपले देशको आधा जिल्लामा पुगेर गजल सुनाइसकेका छन् । देश बाहिर दार्जिलिङसम्म पुगेका छन् ।

पूरा गजल

खान मन छैन भन्नुभन्दा उपयुक्त बहाना छैन।
मलाई थाहा छ, कसौडीमा आमालाई पुग्ने खाना छैन।

जस्लाई बाटो छोड्दा म लडेँ उहि हासेर गयो,
महोदय, अरुको भलाई चिताउने त जमाना छैन ।

फुटपातमा लुगा बेच्नेहरुलाई जरिवाना छ यहाँ 
कलिला नानीको लुगा च्यात्नेलाई जरिवाना छैन,

बगर हुँ, उसको पैतलाको डोब अझैं छ यो छातीमा,
उ पानी रहेछ जहाँ म बसेको कुनै निशाना छैन ।

भित्तो लड्ने डर पनि सकिन्छ एक बर्खापछि,
अब हुरीको डर सकियो, हिजोदेखि घरको छाना छैन ।

गजलमा संवाद शैलीको सुरुवात भएको यो शेर:

बा, हेर्नुस त खान पाइन्छ लेखिएको छ त्यहाँ
थाहा छ बाबु सित्तैमा पाइन्छ लेखिएको छैन ।

पूरा गजल

मेरै मुल्य सोध्दा पनि मैले मनमा लिएको छैन ।
के लिनु जो आजसम्म आफ्नै खुट्टामा उभिएको छैन ।

एकछिन पर्खिनुस् हतार नगर्नुस् हास्नलाई,
म पछारिन लागेको हुँ पछारिएको छैन ।

दुःखको भारी उसलाई नी दिन छोडेन भगवानले,
जसलाई शरीर धान्ने सम्म खुट्टा दिएको छैन।

सम्झिन नसकेको बा’को अनुहार हो उसले,
औलामा सुनको औँठी थियो बिर्सिएको छैन।

बा, हेर्नुस त खान पाइन्छ लेखिएको छ त्यहाँ,
थाहा छ बाबु सित्तैमा पाइन्छ लेखिएको छैन ।

एक गरिव जसलाई खानसम्म मुस्किल छ, बजारमा खाना पाइन्छ तर लेखिएको छ तर सित्तैमा पाइन्छ लेखिएको छैन । त्यो सानो छोरोले खान पाइन्छ त देख्यो तर बुवाको गरिवीले सित्तैमा पाइदैन नलेखिएको कुरा पनि देखायो ।

०७५, ७६ सालतीर लेखिएको गजल हो यो । यो शेयर पनि प्रदीपले हरेक बसाइमा दोहोर्‍याई, तेहेर्‍याई सुनाउनछन् । उनका धेरै जसो गजलमा संवाद शैली मिसाइएको छ । वचन गरेका गजलमा श्रोताको वाहवाहीलाई माया सम्झिने उनलाई कुनै गजलमा सोचेजस्तो प्रतिक्रिया नआउँदा भने ननिको लाग्छ ।

गजल रहर र नामको लागि मात्रै यसमा आर्थिक पक्ष शुन्य छ भन्ने कुरा पनि नउठेको होइन । तर ०७० साल अघिसम्म रहर, नाम र प्रमाणपत्रको लागि लेखिदै आइएको गजलमा अहिले आर्थिक पक्ष पनि जोडिएको छ । हरेक कार्यक्रम, महफिल, र महोत्सवमा अहिले सर्जकलाई पारिश्रमीक सहित बोलाइन्छ ।

उनी भन्छन्, ‘कार्यक्रममा बोलाउनुहन्छ आवतजावत, बस्नेखाने सँगै पारिश्रमीक पनि पाइन्छ । अब गजल लेखेर पनि बाँच्न सकिन्छ की भन्ने कहि आधार बन्न थालेको छ ।’

दुई तीनवटा गजल दैनिक जसो लेख्ने उनले एकदिनमा आठवटा पनि गजल लेखेका छन् । मुक्तक एकदमै कम लेख्छन् उनी । भन्छन्, मलाई गजलको औधीँ माया लाग्छ, अरु लेख्नतीरै लाग्दिन गजलमै रमाउँछु ।’

प्रदीप ‘साधना साहित्य प्रतिष्ठान गोरखा’को महासचिव समेत हुन् । त्यो प्रतिष्ठानबाट गोरखालीहरुको मात्रै संयुक्त गजल संगहमा उनका पनि गजल छन् । संयुक्त संग्रहमा चार पाँच संयुक्त संग्रहमा गजल भए पनि उनको एकल संग्रह आइसकेको छैन, तर निकाल्ने सोचमा भने छन् ।
शिक्षकले भन्दा बढी मिडियाले र मिडियाले भन्दा बढी यहि गजलले आफूलाई चिनाएको उनी मान्छन् ।

लकडाउनकै अवधिमा उनले लेखेको यो गजल नयाँ हो जुन एकदमै मन पराइएको गजलमा पर्छ ।

आफ्नाहरु छँदै थिए पाप गर्न ।
तिमी किन आयौँ थपथाप गर्न।

नत्र यो जिन्दगी कसरी काट्नु ,
केहि त चाहिन्छ पश्चताप गर्न।

आफैँ पनि त सकिए छ आगो,
आयो थ्यो मलाई सखाप गर्न।

अड्कल गरे पुग्छ कात्रोलाई,
भोटोलाई पो पर्छ नाप गर्न।

मलाई किन लैजान्छस् र छोरा,
औला लैँजा औंठा छाप गर्न ।

घरका जेठा छोरा प्रदीपलाई गजल लेखनमा घरमा पनि साथ छ । उनी भन्छन्–‘सुरुसुरुमा त घरमा के गर्छ, कता तीर लाग्दै छ? हामी कोहि नहिडेको बाटो बा–आमाले भन्ने गर्नुहुन्थ्यो तर अहिले मेरा गजल र अनि महफिलमा वाचन गरेको खोजीखोजी सुन्न र हेर्न थाल्नुभएको छ । यो देखेर खुब खुशी लाग्छ ।’

पछिल्लो समय सामजिक सञ्जाल टिकटकमा पनि उनीलाई देख्न सकिन्छ । नेपाली साहित्य टिकटकमा कम देखेर पनि टिकटकमा आएका उनीलाई त्यहाँ पनि धेरैले रुचएको हरेक भिडियोमा आउने प्रतिक्रियाले प्रष्ट पारेको छ । एक लाख १२ हजार बढीले ‘फलो’ गरेका छन् । टिकटकमा आएका सबै प्रतिक्रिया हेर्छन् उनी । उनका गजल सुन्ने श्रोताले ज्यानमारा गजलकार पनि भन्ने गर्छन् ।

उनले आफ्नो नामबाट अफिसियल युट्युव च्यानल सञ्चालनमा ल्याएका छन् । ‘ गजलकारलाई गजल लेखेरै बाच्न सकिन्छ या सकिदैन भन्ने अनुपात गर्ने आधार पनि हो युट्युव त्यसैले च्यालन बनाएको हुँ’ उनले भने ।

गोमा परियार

पत्रकार परियार ज्योति न्यूजको लागि जीवनशैली, कला र मनोरञ्जन क्षेत्रमा कलम चलाउँछिन् ।

प्रतिक्रिया