बिहीबार, असार १०, २०७८

गायक नभएको भए खेलाडी हुन्थेँ: मेक्सम खाती

गोमा परियार २०७८ जेठ २२ गते १५:५०

‘सानु कहाँ छौ, मेरी सानु कहाँ छौ,
एकैचोटी भेट हुने धोको छ भेट जहाँ छौ’

यो गीत गाउदा मेक्सम खाती मात्रै १५ वर्षका थिए । ०६८ सालमा बजारमा आएको यस गीतले त्यो समय लोकदोहोरी क्षेत्रमा चर्चा कमाएको र रुचाइएको गीत बन्यो ।

आजसम्म पनि सुनिने र बज्ने यस गीतलाई सदाबहार गीत भन्दा पनि फरक नपर्ला । गायक खाती लोकदोहारी क्षत्रमा रुचाइएका र चलेका गायकमा पर्छन् । मेक्सम कलाकार नरेश खातीका सहोदर भाइ हुन् ।

दाङका मेक्सम सानैदेखि गीत गाउथे । उनि भन्छन्,‘ म चार कक्षामा पढ्दादेखि नै गीत गाउथे, साथैदेखि गायक बन्ने रहर थियो, रेडियोमा टिभीमा मेरो गीत बजोस, म देखिन पाउ भन्ने लाग्थ्यो यी कुरा र रहरहरु पूरा भएको महसुस हुँदै छ ।’

उनका दाइ नरेश खाती पनि चर्चित र रुचाइएका कलाकारमा पर्छन् । मेक्समलाई दाइ यो क्षेत्रमा धेरै सहज भएको हो । ०६७ सालमा काठमाडौं आएका मेक्समले पहिलो गीत ‘लाहुरे हो की ड्राइभर’ गाय तर उनलाई चिनाउने गीत भने ‘सानु कहाँ छौ’ बन्यो ।

सुरुको गीत नै चलेपछि मेक्समलाई यो क्षेत्रमा टिक्न गाह्रो भएन अझ दाइ यहि क्षेत्रमा र पहिलादेखि नै काठमाडौंमा बस्दै आएका, यसले गर्दा पनि उनलाई काठमाडौंमा आएर खान बस्न अझैं भनौ संघर्ष धेरै गर्न परेन ।

‘दु:ख र संघर्ष त गर्न पर्‍यो तर दाइको भन्दा मैले थोरै गरे दाइ भएकाले मलाई हरेक कुरामा सर्पोट हुन्थ्यो धेरै सहज भयो ।’ उनले भने ।

मेक्समको दाइ मात्रै नभएर दिदीले पनि गीत गाउने उनले बताए । उनी भन्छन्– ‘मेरो दिदी पनि राम्रो गाउनु हुन्छ, सानोमा विद्यालयमा सांगेतिक कार्यक्रम, प्रतियोगीता हुँदा प्रथम, दोस्रो र तेस्रो पुरस्कार नै हामी तीन जनाले जित्थ्यौँ ।’

मेक्सम र नरेशको यो यात्रामा परिवारको पनि पुरा साथ र सहयोग छ । ‘पहिलो गीत ‘लाहुरे होकी ड्राइभर’ बजारमा आयो सुरुवाती भएर खासै चलेन बाबा रोजगारीको सिलसिलामा हामीले यहाँ (नेपाल)बाट क्यासेट पाएको थियौं बाबाले आफ्नो कम्पनिमा क्यासेटहरु बेच्नुभएको थियो’ उने भने । मेक्सम एकवर्ष अष्ट्रेलियामा बसेर पाँच, ६ महिना अघिमात्रै नेपाल आएका हुन् ।

प्रस्तुत छ, मेक्समसँग गरिएको कुराकानीको सम्पादित अंशः

१. के मा व्यस्त हुनुहुन्छ ?

लकडाउन छ, घरमै छु, बाहिर जादिँन । गीत अभ्यास गर्ने यसरी नै समय बिताइरहेको छु ।

२. मेरी छोरी निकै चर्चामा रह्यो फेरि पछि मेरो छोरा पनि ल्याउनुभयो ? मेरो छोरी जत्तिको माया नपाएको होकी के हो ?

मेरी छोरीले निकै माया पायो, चर्चा पनि बटुल्यो भिवर्सको तुलनामा मेरो छोरा चलेन भन्ने हामीलाई पनि महसुस भएको छ । तर जत्तिले सुन्नुभयो माया गर्नुभयो । राम्रो प्रतिक्रिया दिनुभयो ।

३. अष्ट्रेलियाबाट आइसकेपछि कतिवटा गीत गाउनुभयो ?

चार वटा गीत गाए, अरु पनि तयारीमा थिए तर लकडाउनले गर्दा रोकिएका छन् ।

४. संख्यात्मक हिसावले अहिलेसम्म कति गीतमा स्वर भर्नुभयो ?

ठ्याक्कै त हिसाव गरेको छैन । तर २ सय बढी भए होलान् ।

५. नरेश खाती र मेक्सम खाती लोकदोहोरी क्षेत्रको रामलक्ष्मण भनेर चिनिनुहुन्छ, बीचमा दासँग धेरै समय टाढा रहेको पहिलो पटक हो ? कस्तो महसुस भयो ?

परिवारसँग छुट्टिएर पहिलोपटक धेरै लामो समय एक वर्ष बस्नुपरेको थियो निकै याद आउथ्यो । म दादासँग यसरी टाढिएर बस्दा मलाई पनकै गाह्रो भएको थियो दादालाई पनि भएको थियो । दादा मेरो साथी पनि हो हामी २४ घण्टा सँगै हुन्छौ । दादासँग टाढिएर बस्दा याद धेरै आउथ्यो ।

६. गाउने, अनि अभिनय पनि गर्न थाल्नुभएको छ । यी दुवैमा कुन बढी सहज र रुचाइए जस्तो लाग्छ ?

पहिलेदेखि नै गाउने भएर सहज त गाउने नै हुन्छ तर अभिनयमा पनि रहर भएकाले धेरै गाह्रो त लाग्दैन, तर सहजताको हिसावले अभिनय भन्दा गाउनै सहज छ । दर्शकश्रोताले दुवैमा माया गरिदिनुभएको छ, जस्ले गर्दा मलाई अभिनयमा पनि निरन्तर देख्न सक्नुहुने छ । निकै खुशी छु ।

७. जे सोचेर काठमाडौं पस्नुभयो त्यो पुरा भयो जस्तो लाग्छ ?

मैले सोचेको भन्दा धेरै माया पाएको महसुस गरेको छु । सपना र रहर त कहिले पनि पूरा हुँदैनन् तर अधुरा पनि छैनन् । म एकदम खुशी छु ।

८. गीत संगीत बाहेक अन्य कुन कुरामामा रुची छ ?

सानैदेखि गीतबाहेक खेलकुदमा बढी ध्यान दिने र रुची राख्थे म गायक नभएको भए खेलाडी हुन्थेँ होला, ‘तेक्वान्दो प्लेर हुँ म’ ।

९. सांगीतिक क्षेत्रमा नजिकको साथीको नाम लिदा कस्को लिनुहुन्छ ?

मेरो दादा, नरेश खाती ।

१०. अब कस्ता गीतको तयारीमा हुनुहुन्छ ?

नयाँ ‘छेकेर कहाँ छेकिन्छ माया ?’बोलको आधुनिक गीत अब छिट्टै आउँदै छु ।

११. तपाइका यतिधेरै गीत मध्ये सबैभन्दा मन परेको कुन हो ?

मेरा सबै गीत मलाई उत्तिकै मन पर्छन् । यहि भनेर एउटा छैन ।

१२. कतिवटा देशमा घुम्नुभयो ?

युरोपको १३ देशमा गएको छु । कतार, दुबइ मलेसिया गएको छु ।

१३. यो क्षेत्रमा आउनु र अहिलेसम्म टिकिरहनु प्रेरणाको श्रोत कसलाइ मान्नुहुन्छ ?

परिवार र दर्शकश्रोताको माया ।

१४. घुम्नलाई सबैभन्दा मन पर्ने ठाउँ ?

पोखरा ।

१५. जिवनमा एकदमै खुशी र दुखी भएको कुनै पल सम्झनामा छ ?

दु:खको भन्दा पनि खुशीका पल धेरै छन् मेरा । विभिन्न जिल्ला, देशमा सांगेतिक कार्यक्रमको लागि जादा दर्शकश्रोताबाट पाउने माया, अवार्डहरु यी मेरा खुशीका पल हुन्

१६. अन्त्यमा के भन्न चाहनुहुन्छ ?

हिजो भन्दा आज आज भन्दा भोलि कसरी राम्रो गर्न सकिन्छ भनेर अघि बढिरहेको छु । दुःख र मेहेनत गरिरहेको छु मेरा गीत–संगीत लाई हजुर हरुको माया र आशीर्वाद चाहिन्छ साथै कहीं कतै कमी कमजोरी भए सच्चाउने बाटो पनि देखाइदिन हार्दिक अनुरोध गर्दछु ।

गोमा परियार

पत्रकार परियार ज्योति न्यूजको लागि जीवनशैली, कला र मनोरञ्जन क्षेत्रमा कलम चलाउँछिन् ।

प्रतिक्रिया