बिहीबार, असार १०, २०७८

सेटिङको गन्ध : ओलीको विज्ञप्तिलगत्तै श्रीमान् बिरामी !

विशेष संवाददाता २०७८ जेठ २४ गते २२:३७

काठमाडौँ । नेपालको राजनीतिक गतिविधि र अदालती मुद्दामामिलामा आजकल सेटिङको चर्चा खुब चलिरहेको छ । गत पुस ५ गते प्रतिनिधि सभाको पहिलो विघटनपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले खुब प्रयोग गरेको शब्द हो ‘सेटिङ’ ।

शान्ता चौधरीले त एक बानेश्वरको अल्फा बिटामा भएको एक कार्यक्रममा भनेकी थिइन्, ‘प्रधानमन्त्री ज्यूले सबैतिर सेटिङ मिलिसक्यो, अब संसद पुनःस्थापना हुनै सक्दैन ।’

तर त्यतिबेला सेटिङ भत्क्यो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर नेतृत्वको संवैधानिक इजलासले दुई महिनापछि प्रतिनिधि सभा पुनःस्थापना गरिदियो । त्यही अदालतले फागुन २३ गते एमाले र माओवादी पूर्ववत अवस्थामा ब्युँताउने निर्णय गरेपछि राजनीतिक वृत्तमा ‘ ए ! सेटिङ त यहाँ पो रहेछ’ भन्ने परेको थियो ।

पछिल्लो समय त्यही सेटिङको चर्चा चलिरहेको छ । आइतवार राति ओलीले जेठ ३ मा फर्कन तयार रहेको भन्दै आफ्नै पार्टीका ‘विद्रोही’ समूहलाई पार्टी एकताका लागि सशर्त आह्वान गरे । आह्वानमा ओलीले भनेका थिए, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका नेताहरूको हस्ताक्षर फिर्ता गराइने छ ।’

असन्तुष्ट समूहको नेतृत्व गरिरहेका माधव नेपाल समूहका २३ जनाले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव समूह र जसपाको उपेन्द्र यादव समूहका नेताहरूमध्ये १ सय ४६ जनाले नै रिट दायर गरेका हुन् ।

सबै रिटउपर संवैधानिक इजलासमा सुनुवाइ जारी छ । सोमवारका लागि तय गरिएको सुनुवाइ भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी भएको भन्दै बुधवारका लागि सारियो ।

नाम उल्लेख नगर्ने शर्तमा नेपाल समूहका एक नेता भन्छन् – ‘ओलीले एकताका लागि आह्वान गरेकै भोलिपल्ट श्रीमान् बिरामी भएको खबर सुन्दा अचम्म लाग्यो । यो कतै बाख्रो हराउनु र बाघ पनि कराउनु जस्तो संयोग त होइन ?’

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेकामध्ये नेपाल समूहका २३ जनाले रिट फिर्ता लिनेबित्तिकै मुद्दा कमजोर हुन्छ । ओलीले पार्टी एकताको नाम दिँदै गरेको आह्वानमा त्यही हस्ताक्षर फिर्ताको माग गरेका हुन् ।

प्रतिनिधि सभाको दोस्रो विघटन जसरी बदर हुने छनक पाएका ओलीले एकताको नाममा नेपाल समूहलाई अल्मल्याउने काम गरेका छन् । संयोगवश नै भनौं, प्रधानन्यायाधीश आजै बिरामी परेर सुनुवाइ स्थगित हुनुमा कतै श्रीमानले पनि ओलीकै खेलमा साथ दिएको त होइन ? भनेर राजनीतिक वृत्तमा प्रश्न उठेको छ ।

यद्यपि यसको स्वतन्त्र पुष्टि ज्योतिन्यूजले गर्न सकेन । तर सामाजिक सञ्जालमा आएका केही प्रतिक्रियाहरूले यसको संकेत भने गरेका छन् ।

यदि सोमवार र मंगलवारको बीचमा २३ मध्ये केही निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता गराउन सकियो भने सर्वोच्चमा सरकारी पक्ष बलियो हुने देखिन्छ ।

ओलीले एकताका लागि आह्वान गर्दै विज्ञप्ति निकालेपछि सबैभन्दा पहिला योगेश भट्टराईले त्यसको स्वागत गरेका थिए । भट्टराई, गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डे अलि बढी नै लचक देखिन्छन् ।

यी तीन लगायत थप केही नेताहरूलाई आफ्नो पक्षमा ल्याउन सकिने आंकलनसहित बालुवाटारले विज्ञप्तिको ‘मुभ’ गरेको हो ।

ओलीले विज्ञप्ति निकालेपछि नेपाल समूहका धेरै नेताहरू अलमलमा परे । उनीहरूले तत्काल नेता नेपालको धारणा माग गरे । नेता नेपाल आफैं पनि असमंजमा परेका छन् ।

सोमवार दिनभरजसो नेता नेपालको राजनीतिक दौडधूप तीव्र रह्यो । कहिले प्रचण्डसँगको भेट त कहिले कांग्रेस सभापति शेरबहादुरसँगको भेट ।

त्यो बीचमा भर्चुअल माध्यमबाट नेता नेपालले आफूनिकट स्थायी कमिटी सदस्यहरूसँग पनि गफ गरे । अधिकांश स्थायी कमिटी सदस्यहरूले ओलीले फ्याँकेको चारोमा नपर्न आग्रह गरेपछि नेपाल अलि कूल भएका छन् ।

ओलीले जारे गरेको विज्ञप्ति छलकपटको अर्को भर्सन भएको नेपाल समूहमा चर्चा छ । नेपाल समूहले आज गरेको छलफलमा हस्ताक्षर फिर्ता लिन नसकिने बरू संसद विघटन गर्ने निर्णय फिर्ता लिन ओलीलाई काउन्टर चेतावनी दिएका छन् ।

प्रतिक्रिया