बिहीबार, असार १०, २०७८

शहरमा भन्दा गाउँघरमा कोरोना संक्रमण धेरै

ज्योतिन्यूज २०७८ जेठ २७ गते १०:४३

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा फैलिएकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र देखिएको छ ।

अझै पनि ४६ भन्दा बढी जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको तथा तीमध्ये काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, रुपन्देही, कैलाली र चितवनमा धेरै सङ्क्रमित रहेको बताउँदै उहाँले पछिल्लो १४ दिनमा पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, सिरहा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, रोल्पा, रुकुम पश्चिम र दार्चुलामा सक्रिय सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलका अनुसार प्रदेश १ मा पाँचथर, ओखलढुङ्गा, तेह्रथुममा कोरोना सङ्क्रमण अत्यधिक रहेको छ ।

प्रदेश २ मा सिरहा, बागमती प्रदेशमा सिन्धुपाल्चोक, नुवाकोट, गण्डकी प्रदेशमा नवलपरासी पूर्वमा सङ्क्रमण फैलिरहेको छ । यसैगरी लुम्बिनी प्रदेशमा रोल्पा, कर्णाली प्रदेशमा रुकुम र रुकुम पश्चिम र सुदूरपश्चिमको दार्चुलामा कोरोना तीव्र रूपमा फैलिएको छ ।

प्रतिक्रिया