बिहीबार, असार १०, २०७८

मधेसमय भयो वर्तमान मन्त्रिपरिषदः प्रदेश २ का मात्रै १४ जना

ज्योतिन्यूज २०७८ जेठ २७ गते १७:३५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आफूसँग रहेका ८ मध्ये ७ वटा मन्त्रालयमा मन्त्री नियुक्ति गरेर वर्तमान मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।

प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका थिए ।

यसअघि गत २१ गते जसपाका ८ र एमालेका २ मन्त्रीले शपथ लिएका थिए । नयाँ नियुक्ती अनुसार विहिबार खगराज अधिकारी गृहमन्त्री, नारदमुनी राना वनमन्त्री, मोहन वानियाँ विनाविभागीय, नैनकला थापा सन्चारमन्त्री, ज्वालाकुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीको रुपमा शपथ दिएका छन् ।

मधेसमय भयो अओली मन्त्रिपरिषद

बर्तमान सरकारमा प्रदेश २ अर्थात नेपालको मधेस क्षेत्रका मन्त्रीहरुको बहुमत देखिएको छ । ओलीले २५ सदस्यीय मन्त्रीमण्डलमा १४ जना प्रदेश नम्बर २ बाट बनाएका छन्। जुन ५६ प्रतिशत हो।

यसअघि गत जेठ २१ गते प्रधानमन्त्री ओलीले राजपाका एक उपप्रधानसहित १० मन्त्रीहरूसमेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । त्यसबेला जसपाबाट राजेन्द्र महतो उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए भने शरदसिंह भण्डारी ऊर्जा मन्त्री भए ।

अनिलकुमार झा खानेपानी मन्त्री, लक्ष्मणलाल कर्ण भूमि सुधार, एकवाल मियाँ खेलकुद मन्त्री, विमल श्रीवास्तव श्रममन्त्री, उमाशंकर अरगरिया, पर्यटन मन्त्री, चन्दा चौधरी महिला तथा बालबालिका मन्त्री, रेनुका गुरूङ महिला राज्यमन्त्री र चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री बनाए ।

साथै ओलीले जेठ २१ मै एमालेबाट बिष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाए । पौडेल अर्थमन्त्री र महासेठ परराष्ट्र मन्त्री पनि छन्। शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री भए ।
उपप्रधानमन्त्री महासेठ र कानुन मन्त्री रहेका लीलानाथ श्रेष्ठ पनि प्रदेश नम्बर २ कै हुन् ।

प्रतिक्रिया