बुधबार, साउन २०, २०७८

ओलीको उल्टो ‘काउन्ट-डाउन’ शुरू, यस्तै पारा हो भने एमाले नरहने निकटस्थको चेतावनी

विशेष संवाददाता २०७८ जेठ २८ गते १९:४३

काठमाडौं । बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले एकैदिन ३ ‘सरप्राइज’ दियो । अर्को सरप्राइज ओलीले गण्डकीमा पाए।

अदालतले दिएका तीन सरप्राइज हुन्– १. फ्लोर क्रस गरेका कर्णालीका ४ सांसदको पुनर्बहाली, २. एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको वैधताको समाप्ती र ३. नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन गर्न रोक ।

त्यस्तै बिहीवार नै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामाविश्वासको मत पाएनन् ।

एमाले अझ त्यहाँमाथि पनि ओलीको एकल किल्ला मानिएको गण्डकी प्रदेशमा अब कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीका रूपमा रजगज गर्ने प्रष्ट भइसकेको छ ।

यसअघि कर्णालीमा माओवादी केन्द्र नेत्रित्वको सरकारले विश्वासको मत पाएसकेको छ भने तीन दिन अघि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि विश्वासको मत प्राप्त गरे ।

कर्णाली र सुदूरपश्चिममा ओलीले चालेको राजनीतिक गोटी फेल भएको छ । त्यस्तै लुम्बिनी प्रदेश धरमरको स्थितिमा देखिन्छ । त्यहाँ पनि मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएको स्थिति छ ।

प्रदेश २ को सरकार टिकाउने प्रयोजनका लागि भनेर जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेसका तीन जनालाई मन्त्री बनाएर काठमाडौँ फर्केका छन् ।

प्रदेश १ र प्रदेश ३ मा उस्तै किचलो देखिन्छ । पार्टीभित्रको विवाद समाधान भएन भने दुवै ठाउँमा ओली गूटले मुख्यमन्त्री बाट हात धुनुपर्ने पक्कापक्की नै छ ।

चारैतिर घेराबन्दीमा परेका ओली आफैं अस्वस्थ छन् । उनलाई रातिमा निद्रा नलाग्ने समस्या बढ्न थालेको छ । उनले मध्यरातमा गर्ने भेट, लेख्ने कविताहरूले त्यसको पुष्टि गर्छन् ।

बालुवाटार निकटएक चिकित्सकका अनुसार ओलीको राजनीतिक धपेडीले उनको स्वास्थ्यमा प्रतिकूल असर पार्दै लगिरहेको छ ।

१५ महिना अघि मात्र मिर्गौलाको दोस्रो प्रत्यारोपण गरेका ओली त्यसपछि राजनीतिक रूपमा अत्याधिक सक्रिय रहे ।

डाक्टरहरूको सल्लाह सुझाव बमोजिम नचल्दा स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको ओलीको उपचारमा प्रत्यक्ष खटिदै आएकाहरूको निष्कर्ष देखिन्छ ।

विपक्षीहरूको कठोर घेराबन्दीमा परेका ओलीलाई आफ्नैले साथ छोड्दै गएका छन् ।

ओलीको स्वेच्छाचारी शैलीका कारण परराष्ट्रमन्त्रीसमेत रहेका नेता प्रदीप ज्ञवालीले मन्त्रालय छोडेको चर्चा छ भने गृहमन्त्री नपाएपछि अर्का अत्यन्त निकट नेता महेश बस्नेतले बालुवाटार नछिर्ने घोषणा नै गरेको स्थिति छ ।

अर्का नेता ईश्वर पोखरेल पहिल्यैदेखि असन्तुष्ट थिए । संसद विघटनदेखि लिएर भारतीय संस्थापनसँग भएको गोप्य सहमति बाहिरिन्छ भनेर नै ओलीले पोखरेललाई रक्षामन्त्रालयबाट पदच्युत गरेर प्रधानमन्त्री कार्यालय तानेका थिए ।

मन्त्रालय चलाउन भन्दा पनि ठेक्कापट्टामा बढी चासो राखेको भन्दै ओलीले पोखरलेलाई सजाय दिएका हुन् ।

दुई पटक संसद विघटन गरेका ओली नेकपा र एमाले विभाजन दुवै पार्टीको विभाजनका मुख्य कारक बनेका छन् । उनीनिकट नेताहरूले बल्ल ओलीले सबै समाप्त पार्दै लगेको भेउ पाउन थालेका छन् ।

पोखरेल, ज्ञवाली र सुवास नेम्वाङजस्ता नेताहरूले ओलीलाई ुयो पाराले चल्दैनु भनी सम्झाउन शुरू गरेका छन् ।

‘एमाले कमजोर हुँदै जानुमा कहीं कतै प्रधानमन्त्रीसमेत रहनुभएका हाम्रा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली कारक त छैन भनेर समीक्षा गर्नुपर्ने बेला आएको छ,’ बालुवाटारनिकट एक नेताले ज्योतिन्यूजसँग भने ।

समग्रमा ओली राजनीतिको ओरालो यात्रा शुरू भएको छ । दम्भ र हठकै कारण ओलीको राजनीतिक भविष्य दुखद हुने सम्भावना रहेको कतिपय राजनीतिक विश्लेषकहरू दाबी गर्छन् ।

प्रतिक्रिया