बुधबार, साउन २०, २०७८

त्रासदीपूर्ण विपत्तीको नियति

ज्योतिन्यूज २०७८ असार ३ गते १७:५४

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा आएको विनाशकारी बाढीको त्रासदीले यतिखेर आम नेपालीलाई अवाक पारेको छ । गत बर्ष सिन्धुपाल्चोककै बाह्रबिसे नगरपालिकामा आएको विनाशकारी बाढीको पीडा बिर्सन नपाउँदै फेरी सिन्धुपाल्चोकमा नै भिषण त्रासदीपूर्ण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ ।

नेपालको भूभौगोलिक अवस्था र परिवेशहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भागहरुमा करिबकरिब उस्तै उस्तै बस्ती, खेतीयोग्य जमीन र खोला/नदीहरुको अवस्थिती रहेको कुरा सर्वविदितै छ । नेपाल सरकारले विपद व्यवस्थापनको निम्ती राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनाएको छ ।

विपदका लागि सामान्य राहत र स्थानीय स्तरको पूर्व सूचनाको व्यवस्थापनमा मात्रै भरपर्दा बर्षेनी ठूलो जनधनको क्षती, बाढी पहिरो, वनक्षेत्र आगलागी, हावाहुरी, हिमताल विस्फोट लगायतका विपदका पूर्वसूचना र पूर्व तयारीका कामहरुमा देखिएको व्यवस्थित प्रणालीको अभावले बर्षेनी ठूलो जनधनको क्षति हुँदै आएको छ ।

धरातलीय वनावटमा दायाँ र बायाँ किनारमा डाँडाहरु र वीचको खोल्सो भाग र त्यसबाट बग्ने पानी पृथ्वीको तापक्रम र मानवीय अतिक्रमणका कारण अतिवृष्टिले सृजना गरेको परिघटना विपदको रुपमा हाम्रा सामू देखिएका हुन्छन् । जसलाई न्यूनिकरण गर्नका लागि हाम्रा आफ्नै विकासका चाहनाहरुलाई समेत स्थानविशेष वा समयविशेषका आधारमा छनौट गर्नुपर्ने कुरा जुन दिगो विकासका लागि आवश्यक छ, र त्यसबाट लाभ लिन पाउनुको सट्टा सबै विकास एकैपटक लाभ लिनेगरी गर्न खोज्नुका कारणका रुपमा पनि हाम्रा सामू हाम्रो विकास विपद बनेर आएको छ । जसलाई वैज्ञानिक आधारमा विकासको मोडेल भन्दा ठेकेदारी (डोजर) विकासतर्फको यात्राले विपदहरु निम्त्याएको स्पष्टै छ ।

यसलाई नेपाल सरकारका बार्षिक कार्यक्रम र नीतिहरुमा सुस्पष्ट व्यवस्थापन गर्न नसक्दा विपदहरुको बाढी नै आउने गरेको छ । नेपालको धरातलीय वनावट, कोशी गण्डकी र कर्णाली मूल नदीहरु र यिनका बेसिनमा प्रत्यक्ष रुपले प्रभावित मानव सुमदायलाई यथोचित जीवनयापन र सामान्य रहनसहनको व्यवस्थापनमा विपदबाट जोगाउने कार्यका लागि ठोस योजना र नीति निर्माणको आवश्यकता जहिले पनि विपदको समयमा मात्रै खड्किने गरेको हुँदा आगामी दिनहरुमा विपदको स्थायी समाधानको व्यवस्थापनमा सरकारले गम्भिर पहल लिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया