बुधबार, साउन २०, २०७८

सरकारले निषेधाज्ञालाई आफ्नो सुरक्षाकवच बनायोः काँग्रेस

ज्योतिन्यूज २०७८ असार ३ गते १६:५५

काठमाडौँ । नेपाली काँग्रेसले सरकारले निषेधाज्ञालाई आफ्नो सुरक्षाकवच बनाएको आरोप लगाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप ल्याउने र जनताका उपचारमा ध्यान दिनेभन्दा निषेधाज्ञा मात्रै जारी राख्दा जनतालाई हातमुख जोर्न गाह्रो भएको भन्दै काँग्रेसले निषेधाज्ञाको विरोध गरेको हो ।

केन्द्रीय समिति बैठक चल्दै गर्दा आज अपरान्ह सहमहामन्त्री प्रकाशशरण महतले पत्रकारहरूसँग निषेधाज्ञालाई सरकारले रक्षा कबजका रूपमा प्रयोग गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोना संक्रमण छ। उपचार र रोकथामको कुनै प्रवन्ध उहाँहरूले गर्नुभएन। गरेको भए लकडाउन गर्नुपर्ने नै थिएन, लकडाउनका बेला नागरिकहरू जति नै असन्तुष्ट भए पनि सडकमा निस्कने अवस्था छैन। उहाँहरूले आफ्नो सत्ता जोगाउने कबचका रूपमा लकडाउनलाई लिनुभयो।’

उहाँले कोरोना संक्रमणबाट सरकार दुःखी हुनुपर्नेमा सत्ता सुरक्षित भयो भन्दै सरकार खुशी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संक्रमणबाट दुस्खी हुनुपर्ने ठाउँमा सत्तामा सुरक्षित भयौं, कोही विरोधमा उत्रँदैन भनेर उहाँहरू सहज महशुस गरिरहनु भएको छ। जनता उपचार नपाएर र भोकै पनि बसिरहेका छन्, जनता आहातमा छन्। हातमुख जोर्न पनि गाह्रो भइरहेको छ। जनता आहतमा छन् सरकार राहत महशुस गर्दैछ।’

उहाँले केन्द्रीय समिति बैठक जारी रहेको र महाधिवेशन मुख्य एजेन्डा भएको बताउनुभयो । भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्तावमाथि छलफल जारी रहेको उहाँको भनाइ छ।

बैठकमा शनिवार भएको बैठकका निर्णयहरु अनुमोदन गर्ने कायक्रम रहेको छ ।

प्रतिक्रिया